विदेशी लगानी भित्र्याउन सजिलो हुने गरी विशिष्टीकृत लगानी कोष संशोधन गरियो
काठमाडौं । धितोपत्र बोर्डले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गर्न विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित व्यवस्थाले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्स्ट्रुमेन्ट र ऋणलाई समावेश गर्न सहज हुने बोर्डको भनाइ छ । संशोधित विशिष्टीकृत लगानी कोष नियमावली साउन १ गतेदेखि लागू गरिएको बोर्डले जानकारी दियो । यस्तो भयो नयाँ प्रमुख व्यवस्था –विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । –प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ । –भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको छ । –योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ । नियमावलीको संशोधनका व्यवस्थाहरुले पूजी बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज गर्न सक्ने वोर्डको अपेक्षा गरेको छ । यस्तो छ नियमावलीको पूर्णपाठ [pdf id=228543]
माध्यामिक तहदेखि नै बीमा पढाउन तात्यो बीमा समिति, कक्षा ११ देखि मास्टर्ससम्मको कोर्स बनाइदै
काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ । विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय समावेश नभएकोले बीमालाई पनि समेट्न सोही अनुसारको पाठ्यक्रम बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हामीले विगतदेखि नै विद्यालयस्तरदेखि नै बीमा सम्बन्धी पढाई हुने व्यवस्था मिलाउन पहल गरेका थियौं, कक्षा ११ र स्नातक तहको पहिलो वर्षको पाठ्यक्रम बनाएर सम्बन्धित निकायलाई दिएका पनि हौं, तर कक्षा ११ र १२ तथा स्नातक तहका सबै वर्षको पाठ्यक्रम तयार भएपछि मात्रै कोर्षमा राखिने गरिएको हुने रहेछ, त्यसैले थप गृहकार्य गर्नुपर्ने देखियो,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने । समितिले चालु आर्थिक वर्षको आफ्नो वार्षिक कार्ययोजनामा बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषय पनि समावेश गरेको छ । समितिले माध्यमिक, स्नातक र स्नाकोत्तर तहमा बीमा विषयको अध्ययनको व्यवस्था मिलाउन पाठ्यक्रम तयार पार्न लागेको हो । समितिले अब कक्षा १२ तथा स्नातक तह दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तहको दोस्रो वर्षको पाठ्यक्रम तयार पार्नेछ । यस्तै, समेस्टर प्रणालीबाट अध्ययन हुने संकायको लागि भने प्रत्येक तहका सबै सेमेस्टरको लागि पाठ्यक्रम तयार पार्नेछ । एउटा तहको सबै वर्षका वा सबै समेस्टरको पाठ्यक्रम तयार भएपछि मात्रै त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिकसत्रको क्यालेन्डर अनुसार पाठ्यक्रम समावेश गर्ने जानकारी प्रतिक्रिया दिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बीमा क्षेत्रको लागि योग्य जनशक्तिको अभाव भएको र जनस्तरमा बीमा सम्बन्धी ज्ञान तथा जानकारी कम भएकोले माध्यामिक तहदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रमा समावेश गर्न लागिएको समितिको भनाइ छ । ‘बीमा महत्वपूर्ण विषय भएकाले यसको ज्ञान जति छिटो हाँसील गरियो उतिनै राम्रो हुन्छ, हामीले सोही कुरालाई ध्यानमा राखेर माध्यमिक तहदेखि नै बीमा विषय पाठयक्रममा समावेश गर्न पहल गरेका छौं’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक रहेको बताएको छ । केन्द्रले स्वीकृत गरेपछि मात्रै विद्यालयस्तरको कोर्षमा कुनै पनि विषय समावेश हुन्छ । त्रिविसँग छलफल स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा बीमा विषय समावेश गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) पनि सकारात्मक रहेको र अहिले छलफल चलिरहेको समितिले जानकारी दिएको छ । बीमा क्षेत्रको भ्यालुयसन गर्ने (एक्चुरी) विषय पढ्न बर्सेनि नेपाली विद्यार्थी विदेशिने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पनि एक्चुरी विषय पढ्ने विद्यार्थीको संख्या निकै रहेको जानकारहरु बताउछन् । कति लाग्छ खर्च ? एक्चुरी विषय पढ्न विद्यार्थीहरुले गणित वा तथ्यांकशास्त्र विषयमा प्लस टु गरेको हुनुपर्छ । प्लसटु सकेको विद्यार्थीले ८ वर्षमा एक्चुरीको पढाइ पूरा गर्न सक्छन् । एक्चुरी पढ्दा ४ वर्ष डिप्लोमा तथा ४ वर्षको फेलोसिप अध्ययन गर्नु पर्छ । एक्चुरी विषय पढ्न भारतमा करिब ४० लाख तथा अन्य देशमा ७० लाखसम्म लाग्ने जानकारहरु बताउछन् । नेपालमा हाल तथ्यांकशास्त्र संकाय अन्र्तगत एक्चुरीयल साइन्सका केही कोर्सहरु पढाई हुदैआएको छ । नेपालमा विए एक्चुरीयल साईन्स पढ्न ४ वर्ष लाग्छ । उक्त कोर्ष पढाइ गर्दा विदेशमा पढाइ हुने एक्ुचरीयल साइन्स पढ्न थप सहयोग पुग्छ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुसार नेपालमा एक्चुरी शिक्षा आवश्यक छ तर सो शिक्षा सुरु गर्न केही समय लाग्ने देखिन्छ । ‘अहिले नेपालमा बीमा सम्बन्धि विषयहरुमा हामीले जोड दिइरहेको अवस्था छ तर एक्चुरीयल साइन्सको हकमा नेपालमा तत्काल सुरु गर्न सकिदैन, केही समय लाग्छ नै, बीमासँग सम्बन्धि विषयहरुमा बीमा समिति तथा पाठ्यक्रमले समन्वय गरिरहेका छन्, बीमा सम्बन्धि चेतनामा वृद्धी गर्नु आजको आवश्यकता पनि हो,’ सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।
महालक्ष्मी विकास बैंकको कामु सीईओमा सागर शर्मा
सागर शर्मा काठमाडौं । महालक्ष्मी विकास बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ शर्माले गत साउन २ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । संस्थाका नियुक्त कामु सीईओ शर्माले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेका छन् ।