प्रभु क्यापिटलले ल्यायो ३ वर्षे निःशुल्क डिम्याट योजना, अनलाइनबाटै खाेल्न सकिने
काठमाडौं । पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकका लागि उक्त योजना ल्याएको हो । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ । क्यापिटलकाे डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाई भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नम्बर पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।
रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सकिने, कम्पनी धाउनै नपर्ने
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सकिने भएको छ । उक्त सेवा सुविधा तथा बीमा प्रिमियमको डिजिटल भुक्तानीको लागि इन्स्योरेन्स र भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाबीच सम्झौता भएको छ । उक्त सम्झौतामा रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ । र, सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्न का लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ । यसका लागि सेलपेमा लगइन गरि बीमा अप्सनमा क्लिक गरी रिलायबल लाइफ छनौट गर्नुपर्ने छ । त्यसपछि आफ्नो पोलिसी नम्बर र जन्म मिति राखे पश्चात आफ्नो बीमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्नुपर्ने छ । र, आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिने छ । साथै, आफ्नो सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्ट्री सेक्सोनबाट सजिलै हेर्न सकिने छ ।
नेपाल इन्सोरेन्सद्धारा शिक्षक–विद्यार्थीको कोरोना बीमा
कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए । “विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उनले भने, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।” प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गरे ।