अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशतले र बीमा शुल्क १०७ प्रतिशतले वृद्धि
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ मा ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ८ लाख ७९ हजारले बढी हो । तीन वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको व्यवसाय र नाफाका सूचकाङ्कहरु राम्रा देखिएका छन् । गत आर्थिक वर्षमा यस कम्पनीले ८६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले जम्मा ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको बीमा शुल्क आर्जन १०७ प्रतिशतले वृद्धि भएको छ भने नफा ५० प्रतिशतले वृद्धि भएको छ । ९१ हजार दुई सय २७ वटा बीमालेख जारी गरेको कम्पनीले एक हजार ९ सय ८० वटा दावी मार्फत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । केही महिनाअघि निष्काशन गरेको ३० करोड रुपैयाँ बराबरको साधारण सेयरबाफत संकलित रकम असार मसान्तमा कम्पनीले पुँजीकरण गर्न बाँकी रहेको देखिएको छ । कम्पनीको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ भने बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । अजोडको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा छ भने प्रति सेयर नेटवर्थ ११५.९७ रुपैयाँ छ । सोमबार कम्पनीको सेयर प्रति कित्ता ५ सय १३ रुपैयाँमा कारोबार भएको छ । १०० रुपैयाँमा साधारण सेयर भर्नेहरुको लागि अहिले नै प्रतिकित्ता ४०० भन्दा बढी फाइदा भएको छ ।
यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम
काठमाडौं । नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू गर्ने भएकाे छ । नेप्से सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । स्टक डिलरकाे काम सञ्चालनलाई सहज बनाउन नेप्सेले बनाएको उक्त कार्यविधि अनुसार स्टक डिलरले विभिन्न १४ वटा काम गर्न नपाउने भएका छन् । स्टक डिलरले गर्न नहुने कामहरूः १) नेप्से तथा बोर्डको स्वीकृत बेगर कारोबार बन्द गर्न पाउने छैनन् । २) नेप्सेलाई झुठा वा भ्रामक सूचना वा विवरण दिन पाउने छैनन् । ३) नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था रहेको छ । ४) बजार सञ्चालनको निमित्त बाधा पार्ने काम गर्न पाउने छैनन् । ५) स्टक डिलरले बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्न पाउने छैनन् । ६) कारोबार गरिने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्न नपाइने । ७) कुनै पनि सूचीकृत कम्पनीले तोकेको भन्दा बढी सेयर लिन पाउने छैनन् । ८) नेप्सेको प्रणालीभन्दा बाहिर गएर सेयर बिक्री गर्न नपाइने भएको छ । ९) अख्तियार प्राप्त निकायले रोक्का गरेको सेयर पनि किनबेच गर्न पाइने छैन । १०) झुट्ठा कारोबार गर्न पाइने छैन । ११) स्टक डिलरले अनुमति नलिई हाई फ्रिक्वेन्सी ट्रेडिङ् वा अल्गोरिदममा आधारित कारोबार सञ्चालन गर्न पाउने छैनन् । १२) उनीहरुले कुनै पनि कम्पनीको भित्री सूचनामा आधारित रहेका कारोबार गर्न नपाउने भएका छन् । १३) नेप्सेको कारोबार प्रणाली जोडिएको उपकरणहरुका नेप्सेको प्रणाली, उपकरण, तथ्यांक एवं कारोबार प्रकृयालाई असर गर्ने गरी अन्य उपकरण वा सफ्टवेर जडान गर्न पाउने छैनन् । १४) यसका साथै, प्रचलित नेपाल कानून विपरित हुने अन्य कामहरु गर्ने नपाउने नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कार्यविधिमा भनिएको छ । सम्बन्धित समाचारः स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने
आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, जगेडा कोषमा थपियो ६ करोड रुपैयाँ
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव)को असार मसान्तसम्ममा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आवको सोही अवधिमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । २६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाले गत असार मसान्तसम्ममा ८८ करोड ५७ लाख निक्षेप संकलन र २ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड अर्थात ५८४ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा १ करोड २ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा पनि बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११५.९८ प्रतिशत, कुल सम्पत्ति प्रतिफल १.२१ प्रतिशत र तरलता अनुपात ५.२४ प्रतिशत रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ३८.११ गुणा रहेको छ ।