अब आईपीओमा कम्तिमा ५० कित्ता आवेदन दिनुपर्ने
काठमाडौं । प्राथमिक बजारमा ‘बुक बिल्डिङ्ग’ विधि लागू भएको छ । नेपाल धितोपत्र बोर्डको साउन २२ गते बसेको बैठकले ‘बुक बिल्डिङ् निर्देशिका, २०७७’ लागू गरेको हो । यससँगै अब बुक बिल्डिङ् मार्फत सार्वजनिक निष्काशन गरेको कम्पनीको धितोपत्र खरिदमा सर्वसाधारणले कम्तिमा ५० कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउने भएका छन् । साथै, बाडँफाँड हुने धितोपत्र संख्या पनि न्युनतम ५० कित्ता हुने छ । अन्यको हकमा भने पुरानै नियम अनुसार न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने र बाँडफाँड हुँदा न्युनतम १० कित्ता सेयर पाइने बोर्डले जनाएको छ। साथै, यस सम्बन्धि विभिन्न व्यवस्थाहरू लागू गरिएकाे छ । जसमा संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने व्यवस्था रहेको गरेको छ । स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको अपेक्षा रहेको छ । निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने समेत बोर्डको अपेक्षा रहेको छ । साथै, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ । [pdf id=232118]
बीमा कम्पनी ५० प्रतिशत कर्मचारीबाट मात्रै चलाउनु पर्ने, सवारी साधनमा जोर–बिजोर लागू हुने
काठमाडौ । कोरोना महामारीको संक्रमण बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत मात्रै कर्मचारी कार्यालयमा उपस्थित गराउन मिल्ने निर्देशन जारी गरेको छ । समितिले साउन २६ गतेको मन्त्री परिषद्को निर्णयलाई आधार मानी सो निर्देशन जारी गरेको हो । अब बीमा कम्पनीका कर्मचारीहरुले आलोपालो गरी ५० प्रतिशतसम्म मात्र कार्यालयमा कार्य सम्पादन गर्न मिल्ने तथा सवारी साधनको जोर बिजोर प्रणाली बीमा कम्पनीहरुले पालना गर्नु पर्ने भएको छ । समितिले बुधबार उक्त निर्देशन जारी गरेकाे हाे । बीमा सेवा पनि अत्यावश्यक सेवाभित्र पर्ने बताइएकाे भएपनि याे क्षेत्रले पनि अन्य क्षेत्रकाे जस्तै गरी व्यवस्था गर्नुपर्ने भएकाे छ ।
डिजिटल माध्यमलाई प्रोत्साहन दिनु, ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय आउनु- सीईओ भट्टराई
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलेआफ्ना शाखा/उपशाखा र कर्मचारीलाई डिजिटल माध्यमलाई प्रोत्साहन दिन आग्रह गरेका छन् । कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले आफूलाई सुरक्षित बनाई कार्यालय र व्यवसायलाई निरन्तरता दिन उनले साे आग्रह गरेका हुन् । बुधबार एक सूचना जारी गर्दै इन्स्याेरेन्सले प्रधान कार्यालय र शाखा/उपशाखामा सर्तक हुँदै ज्वरो, खोकी र सास लिन गाह्रो हुनेलाई घरमा आराम गर्न लाउने र पिसिआर रिपोर्ट लिएमा मात्र काममा लगाउन आग्रह गरेको छ । त्यस्तै, सरकार र स्वास्थ्य संस्थाले तोके अनसुार स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा लागु गर्दै जान सबै कर्मचारीलाई आग्रह गरेको छ । सरकार र स्थानिय निकायले गरेको निषेधाज्ञा, लकडाउनलाई पूर्ण पालना गर्दै घरबाट इन्टरनेट, फोन, भाईबर र जुम माध्यमबाट सम्पूर्ण कारोबार सञ्चालनको व्यवस्था गर्न इन्स्योरेन्सले सबै शाखाका कर्मचारीलाई भनेको छ । प्रधान कार्यालयमा साउन २९ गतेबाट जोड बिजोड अनुसार ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी गराएका छन् । त्यसैले सोही अनुसार शाखा/उपशाखाले सम्पर्क समन्वय गर्ने र ५० प्रतिशत कर्मचारीले घरबाट कार्यालयमा समन्वय गरी कामलाई निरन्तरता दिनुपर्ने छ । शाखा/उपशाखाले पनि भिडाभाड कम गर्ने, सकभर डिजिटल माध्यमबाट काम गर्ने गराउने र निषेधाज्ञा र लकडाउन नभएका ठाउँको शाखा/उपशाखा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने छ । प्रधान कार्यालय दैनिक संचालनमा हुने भएकाले सम्पर्कमा रहन कम्पनीले आग्रह गरेको छ । साथै, यस सम्बन्धी कुनै समस्या परेमा दुई जना नायब प्रमुख कार्यकारी अधिकृत र मार्केटिङ्ग प्रमुखसँग सम्पर्कमा रहने इन्स्योरेन्सले आग्रह गरेको छ । इन्स्योरेन्सले अर्को सूचना नहुनजेलसम्म यो व्यवस्था लागू गरी कार्यालय र व्यवसायलाई निरन्तरता दिन सबै कर्मचारीलाई आग्रह गरेको छ ।