पुर्नबीमा कम्पनीमा रमेश लम्साल नियुक्त
काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई बोर्डमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा बढी जीवन बीमा क्षेत्रमा सक्रिय लम्साल बीमा एशोसिएटसिप डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् । लम्सालको नियुक्तीसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा सरकारी प्रतिनिधि कोटा सकिएको छ । यसअघि मन्त्रालयले रमेश रानालाई सञ्चालकमा पुर्ननियुक्ती गरेकाे छ भने अर्थ मन्त्रालयकै सहसचिव यमलाल भुसाल सञ्चालक समितिमा छन् । पुर्नबीमा कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ताको हैसियतले अर्थमन्त्रालयले अध्यक्ष पनि आफै तोक्दै आएको थियाे । तर हाल भने भुसाललाई काम चलाउ अध्यक्षको जिम्मेवारी मात्र तोकिएको अर्थमन्त्रालय स्रोतले बतायो । कम्पनी ऐन अनुसार सञ्चालक समितिले अध्यक्ष चयन गर्नु पर्नेहुन्छ ।
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीद्धारा ऊर्जा बचत अभियान शुरु
ललितपुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो । यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताए । उनले भने, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ ।” विसं २०५४ देखि संस्था विद्युतीय अभियान शुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराए । सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ । उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ । संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ । लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिए । संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ । उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ । उक्त संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमा आधारित अनलाईन पेमेन्ट र मोबाइल एप्सको प्रयोग पनि सफल भइरहेको संस्थाका सचिव लोकबहादुर पुलामीले जानकारी दिए । उनले भने, “हामीले विभिन्न संस्थाको सहकार्यमा महिला उद्यमशीलता विकासका लागि सीपमूलक तालीमका साथै व्यवसाय सञ्चालनमा सहजीकरण र व्यवस्थापनको कामसमेत गर्दै आएका छाँै ।” गत वर्ष ६४ भन्दा बढी महिलालाई उद्यमशीलता विकासको तालिम दिएर आत्मनिर्भर हुन सिकाएको पुलामीले बताए । संस्थाले न्यून आय भएका कमजोर उपभोक्ता तथा शेयर सदस्यका घरमा सरल कर्जामार्फत विद्युत् सेवाको पहुँच विस्तारसमेत गरेको कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।
आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, पहिलो वर्ष नै ३४० करोडको लक्ष्य
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि सहमति दिएकाे छ । बीमा समिति सम्वद्ध स्राेतकाे अनुसार आज बीमा समितिले स्वीकृत दिएकाे हाे । फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको रुपमा उनलाई कम्पनीले लिएको छ । चालु आर्थिक वर्षमा नै १५० प्रतिशतले व्यवसाय विस्तार गर्ने संकल्पसहित फुयालले आईएमई लाइफको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको स्रोतले बतायो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकाे छ । आगामी चालु आर्थिक वर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिइएको छ । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी खुल्दा पहिलो आर्थिक वर्षमा आईएमई लाइफ १० मा दोस्रो स्थानमा थियो । तर हाल याे कम्पनी पाँचौ स्थानमा झरेको छ । आईएमई ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु मध्ये आइएमई लाइफको पर्फमेन्स कमजोर भएको प्रवर्द्धकको बुझाई छ । यहि बीचमा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले राजीनामा दिएपछि जीवन बीमाको मार्केटिङमा तगडा व्यक्तिलाई सीईओको जिम्मेवारी दिएको हो ।