कोरोना बीमामा ३.११ करोड दावी, ३२४ बीमितमा संक्रमण
बीमा दावी भुक्तानी अवस्था काठमाडौं । कोभिड–१९ अर्थात कोरोना बीमामा करिव ३ करोड ११ लाख रुपैयाँको दावी परेको छ । भदौ ७ गते साँझसम्ममा ३२४ जना बीमितलाई कोभिड संक्रमण पुष्टि भएको छ । त्यसमा २९८ जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कोभिड–१९ बीमा भएको छ । उनीहरुबाट २ करोढ ९८ लाख रुपैयाँको दावी परेको बीमा समितिले जनाएको छ । त्यस्तै प्रति व्यक्ति ५० हजार रुपैयाँ बीमा गर्नेतर्फ २६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनीहरुबाट १३ लाख रुपैयाँ बीमा दावी भएको छ । बीमा कम्पनीहरुले अहिलेसम्म ८० बीमितलाई ७५ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् । त्यसमा ५० हजारका दरले बीमा गर्ने ९ जनालाई ४ लाख ५० हजार र प्रतिव्यक्ति १ लाख बीमा गर्ने ७१ जनालाई ७१ लाख रुपैयाँ भुक्तानी भईसकेको बीमा समितिले जनाएको छ । भदौ ७ गतेसम्ममा ७ लाख ७२ हजार ६७९ जनाले बीमा गरेका छन् । त्यसबाट ४३ करोड ३७ लाख ५८ हजार ८८२ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । अहिलेसम्म बीमा शुल्क र बीमा दावी भुक्तानीबीच सन्तुलन देखिए पनि बीमा दावी बढ्दो क्रममा रहेकोले बीमा कम्पनीहरु चिन्तित भएका छन् । समूहमा बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँमा एक लाखको कोभिड–१९ बीमा हुन्छ । त्यसमा पनि स्थानीय तहको सिफरिस भएको प्रतिव्यक्ति ३०० रुपैयाँका दरले बीमा शुल्क बुझाउँदा १ लाख रुपैयाँको बीमा हुने व्यवस्था रहेको छ । कुल काेभिड बीमा कम्पनीअनुसार
प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १२.५० प्रतिशत अर्थात २५ लाख ९ हजार ९ सय २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ । सोमबारको बजारमा कम्पनीको सेयर बढ्दो क्रममा रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य १८ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ८७ रुपैयाँ पुगेको छ ।
नागरिक लगानी कोषको विभिन्न भुक्तानी एनसीएचएलबाटै अनलाइन गरिने
काठमाडौं । नागरिक लगानी कोषको विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)का प्रणालीहरु मार्फत अनलाइन गरिने भएको छ । जसको लागि लगानी कोष उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) मा इन्डाइरेक्ट मेम्बरको रुपमा आवद्ध भएको छ । यस आवद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तीय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ । भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ साथै एनपीआईमा आवद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यक्तिगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ । कर्माचारी बचत वृद्धि अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म कनेक्ट आईपीएस मार्फत ४४ करोड ७ लाख रुपैयाँ बराबरको ६ हजार ५ सयभन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको छ ।