बीमा क्षेत्र कसैको पनि प्राथमिकतामै परेन
कोरोना महामारीले अर्थतन्त्रमा कस्तो असर पारेको छ भन्ने कुरा मैले बताइरहन पर्छ जस्तो लाग्दैन । किनभने यो सबैले देखे भोगेकै कुरा हो । भुक्तभोगीले आफ्नो कुरा कसरी व्यक्त गर्छ भन्ने मात्र हो । कोरोना महामारीबाट जीवन बीमा क्षेत्र अछुतो छैन । जीवन बीमा भनेको भौतिक उपस्थिति हुनुपर्ने क्षेत्र हो । कोभिड १९ को कहरको अवस्थामा व्यक्तिसँग सम्पर्क गरेर बिजनेश गर्न साह्रै डर, त्रासको अवस्था छ । यस्तो परिस्थितिमा व्यवसाय संचालन गर्नुपरेको छ भने महामारीको सामनापनि गर्नुपरेको छ । अहिले काम गर्दै बाच्दै दुबै गर्नु परेको अवस्था छ । यस्तो अवस्थामा देशको अर्थतन्त्रको अवस्था कस्तो रहन्छ भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ । जीवन बीमाको क्षेत्रमा हेर्ने हो भने गत आर्थिक वर्ष त्यति नराम्रो रहेन । २०७६ साल चैत्र ११ गतेबाट देशमा लकडाउन भयो । सो अवस्थामा चैत, वैशाख र जेठमा बिजनेश त भएको थिएन । तर, असारमा पिकअप लिएको अवस्था थियो । राज्यले लकडाउन खुकुलो गरेसँगै अलिकति छलाङ नै आयो । गत आर्थिक वर्षमा बीमा शुल्कमा ३२ देखि ३५ प्रतिशतको बृद्धि देखिन्छ । आगामी दिनमा भने समस्या हुनसक्छ । कोभिडको खोप नहुँदासम्म बिजनेश लसको सम्भावना छ । राज्यले लिएको नीति अनुसार बैक वित्तीय संस्थाले दिने रेट अफ रिटर्न साढे ९ प्रतिशत थियो । अहिले ६ प्रतिशतमा झरेको छ । यसले जीवन बीमा कम्पनीहरुको आम्दानी र लगानीमा असर पर्छ । बैक वित्तीय संस्थामा लाइफ इन्स्योरेन्सले धेरै लगानी गरेका छन् । आम्दानी कम हुने तथा खर्च बढदा जीवन बीमालाई समस्या हुने देखिन्छ । नयाँ कम्पनीमा संस्थाको सल्भेन्सीको पाटोमा असर हुनसक्ने देखिन्छ । जीवन बीमा क्षेत्रलाई राज्य, पत्रकार, नियामक निकाय कसैले पनि खास महत्व दिएका छैनन् । राज्यको प्राथमिकतामा पनि यो क्षेत्र पर्दैन जस्तो लाग्छ । हामीले माग गरेको कुरा बजेटले सम्बोधन गरेको छैन । प्रिमियमको रिडक्सन बढाउने तथा माइक्रो क्रेडिटको पाटोमा पनि केही कुरा राखेका थियौं । त्यो विषय पनि सम्बोधन भएन । यस्तै, बीमा कम्पनीहरुले २५÷३० वर्षका लागि दीर्घकालिन लगानी गर्न मिल्ने व्यवस्थाका लागि कुराहरु उठाएका थियौं । बजेटमा कुनै कुराहरु पनि समेटिएका छै्रनन् । अहिले नाफाभन्दा पनि कसरी बाँच्ने भन्ने कुरा प्रमुख हो । यो वर्ष बाँच्ने र आगामी वर्षहरुमा व्यवसाय विस्तारको बारेमा सोच्ने हो भन्ने मलाई लाग्छ । बीमालेख धितो कर्जामा नियामनकारी निकाय तथा राज्यले बीमा शुल्कमा केही छुट दिएको छ । लकडाउनको समयमा समेत टर्मिनेट भएको पोलिसीको दाबी भुक्तानी दिने भनिएकै छ । कोरोना महामाारीकै कारण बीमा चेतना झनै बढेको देखिन्छ । यसलाई हामीले अवसरकै रुपमा पनि हेर्नुपर्छ । बैकास्योरेन्स जीवन या निर्जीवन बीमामा जोडेरभन्दा पनि नियामकहरुको सहकार्यमा अघि बढाएमा राम्रो हुन्छ । गलत भएको ठाउँमा कारबाही गर्दै बैकास्योरेन्समा पुनर्विचार गर्नु राम्रो कुरा हो । (सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बिमक संघका अध्यक्ष पाण्डले विकासन्युजडटकमको ६औं वार्षिकोत्सवको अवरमा आयोजित ‘कोरोना महामारीले वित्तीय क्षेत्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यक्त गरको धारणाको सम्पादित अंश)
बीमा कम्पनीहरुले साढे २ अर्बको सहयोग गर्दा पनि उचित मूल्यांकन भएन
कोभिडको–१९ प्रभाव विश्वव्यापी रुपमा नै परिरहेको छ । यस्तो अवस्थामा बीमा कम्पनीको नेतृत्व गरिरहेका हामीहरु समेत अछुतो भने रहेका छैनौं । हाल कोरोना महामारीले पारेको असरको बारेमा म केही विषय राख्न चाहन्छु । बीमा क्षेत्रले देशमा परेको अफ्ठयारोमा सहयोग गर्यो । राज्यले अप्ठेरो महसुस गरेको समयमा बीमा क्षेत्रले सहयोग गरेको छ । बीमा कम्पनीहरुको यसमा सहभागिता रह्यो । बीमा शुल्कमा छुटको रुपमा बीमा कम्पनीहरुले करिब साढे २ अर्ब रुपैयाँ सहयोग गरे । तर, यसरी सहयोग गर्दा पनि त्यसको उचित प्रचार प्रसार नभएको र सरोकारवालाले उचित महत्व नदिएको जस्तो मलाई महसुस भएको छ । बीमा क्षेत्रको वार्षिक कारोबार अर्थात बीमा क्षेत्र नै २५ अर्ब रुपैयाँ बराबरको छ । त्यस्तो उद्योगबाट साढे २ अर्बको सहयोग हुँदा त्यसले पाउनु पर्ने स्थान नपाएको हो कि जस्तो मलाई लाग्छ । संसारमा घटना भइसकेपछि मलाई छुट देउ भनेर माग्ने हो भने त्यस्तो अवस्थामा छुट पाइदैन । तर अहिले लकडाउनको प्रभावका कारण मागिएको छुट भनेको इभेन्ट पछाडीको छुट हो । एआइआरडीसी आवद्ध रहेका मुलुकहरुमा कोरोनाले प्रभाव पार्यो । बीमाको आय आर्जन भनेकै लगानीयोग्य रकमको लगानीबाट प्राप्त हुने प्रतिफल तथा बीमा शुल्क मात्र हो । त्यस्तो आम्दानीबाट बीमा कम्पनीहरुले बिमितलाई दिएको छुटको लागि बीमा कम्पनीहरु धन्यवादको पात्र हुनुपर्नेमा उचित सम्मान र स्मरणसमेत भएन जस्तो मलाई लागेको छ । बीमा कम्पनीको लगानीको प्रतिफल आगामी वर्षमा घट्ने निश्चित छ । अहिले त्यस्तो अवस्था नदेखिए पनि आगामी वर्षमा देखिन्छ । देश समस्यामा परेको बेलामा कहिकतैबाट सबैले योगदान दिने विषय प्राथमिकतामा राख्नु राम्रो पनि हो । (नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा विकासशील देशहरुका बीमा कम्पनी तथा नियमनकारी निकायहरुको साझा संस्था एआईआरडीसीका अध्यक्ष शाहले विकासन्युजडटकमको ६औं वार्षिकोत्सवको अवरमा आयोजित ‘कोरोना महामारीले वित्तीय क्षेत्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यक्त गरको धारणाको सम्पादित अंश)
बिफिन र सी. एफ. आई. क्यानडाबीच सम्झौता
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बिफिन) र सी. एफ. आई. क्यानडाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बिफिनको तर्फबाट रणनीति तथा परामर्श निर्देशक सुबर्ण पौडेल र सी. एफ. आई. क्यानडाको तर्फबाट संस्थागत तालिम निर्देशक लोनी कोलोम्बेले विधुतिय माध्यमबाट सहमति पत्रमा हस्ताक्षर गरेका छन । सो सहमति अनुरूप सी. एफ. आई. क्यानडाले प्रदान गर्दै आएका अन्तरराष्ट्रिय मान्यता प्राप्त कोर्सहरु बिशेष छुटमा बिफिनले नेपाली बजारमा उपलब्ध गराउने छ भने बिफिनले तयार गरेका अनलाइन स्वदेशी तालिम कार्यक्रमहरु समेत सोहि प्लेटफर्ममा उपलब्ध हुने छन् । यस समझदारीवाट बैंक तथा वित्तिय क्षेत्रमा रोजगारीको तयारीमा रहेका बिधार्थी तथा सो क्षेत्रमा कार्यरत कर्मचारीहरु बढी लाभाम्वित हुने बिफिनका रणनीति तथा परामर्श निर्देशक पौडेलले बताए । बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।