महुली लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश(कर प्रयाेजनकाे लागि समेत) गरी कूल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस सेयर र १९ लाख ७९ हजार ५१० रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित बोनस सेयर अघिल्लो वर्षको तुलनामा बराबर हो भने कुल लाभांशदर कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५र७६ को नाफाबाट सेयरधनीलाई ३१.५७९ प्रतिशत लाभांश(२० प्रतिशत बोनस र ११.५७९ प्रतिशत नगद) वितरण गरेको थियो ।
प्रेस युनियन डाेटीले ग¥यो पत्रकारको दुर्घटना बिमा
डाेटी । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने, “काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।” एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको एक लाख बराबरको बिमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो । जिल्लामा आफ्नो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।
रिलायन्स लाइफ इन्स्योरेन्सले ९२ प्रतिशतले बढायो खुद बीमाशुल्क, नाफामा पनि सुधार
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९२.०६ प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु आवको सोहि अवधिमा १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ करोड १३ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ४ करोड ६५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ, जगेडा कोषमा १९ करोड ८५ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ५.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११५ गुणा बढी रहेको छ । समिक्षा अवधिमा कम्पनीले ८ हजार ३९१ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै ३९ वटा दाबी वापत १४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३ वटा दाबी वापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।