दृष्टि विहीन हेरबिचार केन्द्रलाई आरएमडीसी लघुवित्तको सहयोग

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्ला स्थित दृष्टि विहीन हेरबिचार केन्द्रलाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विकट पहाडी जिल्लाहरुमा रहेका विपन्न वर्गका दृष्टि विहीन विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले एमपीथ्री, एअरफोन, ब्रेल पेपर, सेतो छडी लगायतका एक लाख २० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग स्वरुप प्रदान गरेको हो । आरएमडीसीका अध्यक्ष सुजाता जोशीले दृष्टि विहीन दृष्टि विहीन हेरविचार केन्द्रका अध्यक्ष जीवन कुमार शाक्यलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । उक्त सहयोग सामाग्री आरएमडीसी लघुवित्तका साझेदार संस्था सुर्खेतको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको समन्यवमा दृष्टि विहीन हेरविचार केन्द्रलाई हस्तान्तरण गरिएको हो । आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलालाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योगदान पुर्याउँदै आईरहेकोे छ ।

घरेलु लघुवित्तले भुक्तानी गर्यो बीमा दाबी रकम

रौतहट । घरेलु लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकाहा रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका बडा नं ४ की सदस्य मान्ती देवीको मृत्यु पश्चात निज सदस्यको छोरा सहिन्द्र प्रसाद यादवलाई काजक्रिया खर्च बापतको बीमा रकम १० हजार रूपैयाँ संस्थाका शाखा प्रमुख रुपेश कुमार झाले उपलब्ध गराएका छन् । संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःख को समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएको छ । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रमुख रुपेश कुमार झा र सो केन्द्रका केन्द्र संचालक राकेश यादवको उपस्थिति रहेको थियो भने केन्द्रको सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

‘सनराइज ब्लूचीप फण्ड’मा लगानी गर्नेले वार्षिक २२% प्रतिफल पाउने

काठमाडाैं । सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्काशन गर्न लागेको योजना हो, ‘सनराइज ब्लूचीप फण्ड’ । यो एक बन्दमूखी अर्थात क्लोज इन्डेड म्युचुअल फण्ड हो । यो योजना अन्तर्गत क्यापिटलले आगामी चैत १ गतेदेखि एक अर्ब रुपैयाँ आकार अर्थात १० रुपैयाँ अंकित दरको १० करोडको इकाई निष्काशन गर्दै छ । जसमध्ये न्युनतम ५ करोड इकाई बिक्री हुनुपर्ने छ भने अधिकतम १२ करोड ५० लाख कित्ता इकाई सकारिने क्यापिटलले जनाएको छ । योजना बाँडफाँड भएको मितिले १० वर्षसम्म अवधि रहेको यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म ( इक्वीटी ओरिएण्टेट) अर्थात सेयरमा लगानी गर्ने छ । यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक रहेको छ तथा योजना व्यवस्थापक सनराइज क्यापिटल हो । याे याेजनामा कोष प्रबद्र्धक सनराइज बैंकले बिक्री गर्ने कुल इकाई रकमको कम्तिमा १५ प्रतिशत अर्थात १५ करोड रकम बीज पुँजीको रुपमा लगानी गर्नेछ । यो योजनामा इच्छुक लगानीकर्ताले एक सय इकाईदेखि अधिकतम एक करोड इकाईसम्म खरिद गर्न पाउने छन् । इच्छुकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सक्नेछन् । त्यस्तै, मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरबाटै पनि आवेदन दिन पाउने व्यवस्था रहेकाे छ । सनराईज ब्लुचीप फण्ड कस्तो योजना हो ? विशेषतः यो एउटा सामुहिक लगानी कोष हो, जसले लगानीकर्ताहरुबाट संकलित रकमलाई ब्लूचीप कम्पनी तथा उदयमान ब्लूचीप कम्पनीहरुमा लगानी गर्छ । यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उतार चढावले असर नगर्ने तथा तुलनात्मक रुपमा सुरक्षित हुन्छ । ब्लूचीप कम्पनी भन्नाले कस्ता कम्पनीलाई जनाउँदछ ? सनराइज ब्लूचीप फण्ड अन्तर्गत लगानी हुने ब्लूचीप कम्पनी भन्नाले नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, उच्च बजार पुँजीकरण भएका, वित्तीय अवस्था सबल भएको तथा दीर्घकालमा बजार भन्दा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरु हुन् । यस योजनामा संकलित रकम ब्लूचीप कम्पनीहरुमा लगानी गरिन्छ । योजनाको उद्देश्य  यस योजनाको प्रमुख उद्देश्य भनेको उच्चतम प्रतिफल दिने ब्लुचीप कम्पनीका सेयर तथा अधिकता प्रतिफल प्राप्त हुने अन्य धितोपत्रहरुमा लगानी गरि लामो समयसम्म इकाईधनीलाई नियमित प्रतिफल दिई इकाईको खुद सम्पत्तिमा उच्च वृद्धि कायम राख्नु हो । यो योजना व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताहरुको निम्ति उपयुक्त छ । दीर्घकालको लागि लगानी गर्न र उच्च प्रतिफलको अपेक्षा राख्ने लगानीकर्ताको निम्ति यो योजना उपयुक्त हुने छ । सनराइज ब्लूचीप फण्डले कम्पनीको छनौट कसरी गर्छ ? सनराइज क्यापिटलले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनीको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरि विभिन्न कम्पनीको दैनिक रुपमा वर्गिकरण गर्दछ । यसरी वर्गीकरण गरे पश्चात विभिन्न कम्पनीलाई सन्राइज क्यापिटलले तयार गरेको स्टक ग्रेडिङ्ग पोलिसीको आधारमा ब्लूचीप तथा उदयमान ब्लूचीप कम्पनीमा छुट्याइन्छ र उक्त कम्पनीका सेयरहरुमा लगानी केन्द्रित रहन्छ । साथै, यस योजनाले नेपाल स्टक एक्चेञ्ज (नेप्से) द्धारा “क” वर्गमा वर्गिकरण गरिने कम्पनीका सेयरहरुमा आफ्नो लगानी केन्द्रित गर्दछ । योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरि कम्पनीको वित्तीय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ । सनराइज ब्लूचीपमै लगानी किन ? हाल बजारमा १८ भन्दा बढी सामूहिक लगानी कोष योजना सञ्चालमा छन् । जसको प्रकृति तथा उद्देश्य पनि फरक फरक छन् । त्यस्तै, सनराइज क्यापिटलले सञ्चालनमा ल्याउन लागेको सनराइज ब्लूचीप फण्डको पनि छुट्टै उद्देश्य छ । विश्वव्यापी रुपमा हेर्दा पनि ब्लूचीप फण्डहरु प्रतिफल तथा ख्यातिको हिसाबले उपयुक्त मानिन्छ । नेपालमा पनि म्युचुअल फण्डको इतिहाशमा सनराइज क्यापिटलले पहिलो पटक यस प्रकृतिको योजना ल्याउन लागेको हो । सनराईज ब्लूचीप फण्डमा लगानी गर्ने लगानीकर्ताले औषतमा वार्षिक २२.३८ प्रतिशत प्रतिफल पाउने सनराइज क्यापिटलका सीईओ बिजयलाल श्रेष्ठले बताएका छन् । उनका अनुसार फण्डले उच्च बजार पुँजीकरण भएका कम्पनीमा लगानी गर्दछ । यस्ता कम्पनीहरु तुलनात्मक रुपमा अन्य कम्पनी भन्दा वित्तीय रुपमा सबल, संस्थागत सुशासनमा अब्बल तथा बजारको सामान्य उतार चढावले असर नगर्ने किसिमका हुन्छन् । साथै, यस्ता कम्पनीका सेयरहरुको बजारमा नियमित कारोबार हुने तथा खरिद बिक्री समेत सहज रुपमा गर्न सकिने हुन्छ । र, लामो समयसम्म नियमित तथा अधिकतम प्रतिफल दिने खालका हुने सीईओ श्रेष्ठ बताउँछन् । सनराइज ब्लुचीप फण्ड धितोपत्रको छनोटको निम्ति कोष व्यवस्थापन टोली तथा अनुसन्धान टोलीको व्यवस्था रहेको हुँदा धितोपत्रको होल्डिङ्ग पिरियड तथा अनुमानित प्रतिफल र मूल्यांकन नियमित अनुसन्धान तथा विश्लेषण गरि सोहि अनुरुप कार्यान्वयन समेत गरिने भएकोले बजारमा केहि अंक घटबढ हुँदा समेत लगानीकर्ताको लगानीमा केहि असर नपर्ने र लामो अवधिसम्म प्रतिफलको स्रोत बन्न सक्ने क्यापिटलले बताएको छ । कुनै लगानीकर्ताले एउटा निश्चित उदेश्यले निश्चित समयका लागि केहि रकम बचत गर्न चाहन्छ, सो वचत छोरा छोरीको पढाई, उनीहरुको उज्वल भविश्य वा सोहि प्रकारका भविश्यमा बनाईने योजनाहरुको सफल कार्यान्वयनका लागि वा अन्य कुनै कारण हुन सक्छ । साथै, अवकाश पश्चातको सुखमय समयको कल्पनामा समेत सम्पत्ती वचत गर्ने गरिन्छ । यस्तो अवस्थामा सनराइज ब्लुचीप फण्डमा गरिने लगानी एक उपयुक्त स्रोत हुन सक्छ, जसले लगानीकर्तालाई नियमित प्रतिफल दिने प्रतिबद्धता जनाएको छ । सनराइज म्युचुअल फण्डले ९ महिनामै वितरण गर्यो ७ प्रतिशत लाभांश, यस्ताे छ वित्तीय अवस्था सनराइज म्युचुअल फण्ड अन्तर्गत हाल संचालनमा रहेको सनराइज म्युचुअल फण्डले सञ्चालनको पहिलो नौ महिनाको अवधीमा आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांश वितरण गरेको छ । गत हप्ता सम्मको यस फण्डको खुद सम्पत्ती मूल्य (न्याभ) १७.५४ रुपैयाँ रहेको छ र माघ मसान्तसम्मको खुद सम्पत्ती मूुल्य (न्याभ) अनुसार औषत वार्षिक प्रतिफल ४६ प्रतिशत रहेको छ । सेयर बजारमा जोखिम तथा अवसरहरु दुबै छन् । बजारमा विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन् र यस्ता जोखिम तथा अनिश्चितताको कारणले विभिन्न समयमा बजारमा उत्पन्न हुने उतार चढावले लगानीकर्तालाई उद्देश्य अनुरुपको प्रतिफल प्राप्त गर्न समस्या भएको हुन सक्छ, यस्तो परिस्थितिलाई सहज रुपमा समाधान(ट्याकल) गर्न सनराइज ब्लूचीप फण्ड एक विकल्प हो । साथै, अनुभवी कोष सुपरिवेक्षकहरुको निगरानीमा सञ्चालन हुने यस योजनाले बलियो वित्तीय अवस्था भएका, नियमित प्रतिफल दिने र बजारको उतार चढावले कम असर गर्ने ब्लूचीप कम्पनीहरुमा लगानी गर्ने क्यापिटलले जानकारी गराएको छ । सनराईज म्युचुअल फण्डका आवद्ध कोष सुपरिवेक्षकमा को को छन् ? फण्डले यस योजनाको सुपरिवेक्षणको निम्ति विविध फरक फरक विधामा अनुभव प्राप्त पाँच जना वरिष्ठ तथा प्रख्यात व्यक्तिहरुलाई कोष सुपरिवेक्षकका रुपमा नियुक्त गरेको छ । जसमा कृष्णबहादुर मानन्धर, चण्डीप्रसाद श्रेष्ठ, पूर्णमान शाक्य, बुद्धिप्रसाद आचार्य र सुधिरकुमार शर्मा रहेका छन् । मानन्धर नेपाल राष्ट्र बैंकका पूर्व डेप्युटी गभर्नर हुन् । नेपाल राष्ट्र बैंकमा अधिकृत विशिष्ठ श्रेणीमा ३६ वर्षभन्दा बढीको अनुभव संगालेका मानन्धर हाल विभिन्न शैक्षिक संस्थाहरुमा प्रध्यापकको रूपमा कार्यरत छन् । कोष सुपरिवेक्षक श्रेष्ठ नेपाल सरकारको पूर्व गृह सचिव हुन् । उनी हाल धुलिखेल क्याम्पसमा संचालक सदस्यको रुपमा कार्यरत छन् । उनले नेपाल सरकारको विभिन्न विशिष्ट तहहरुमा २८ वर्षभन्दा बढीको अनुभव बटुलिसकेका छन् । त्यस्तै, बरिष्ठ अधिवक्ता शाक्यसँग न्याय प्रशासन, कानुन तथा न्यायपालिका क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी हाल त्रिभुवन विश्व विद्यालय तथा नेपाल ल क्याम्पसमा प्रध्यापक तथा सर्वोच्च अदालतको बार एसोसिएसनको चेयरमेन र कानुन व्यवसायिको रुपमा कार्यरत रहेका छन् । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक आचार्य हाल वि.पि. आचार्य एण्ड कम्पनी, चार्टड एकाउण्टेण्टस् मा प्रोप्राइटरको रूपमा कार्यरत रहेका छन् । उनले नेपाल टेलिकममा विभिन्न पदहरुमा तथा लेखापरिक्षक भई १९ वर्षभन्दा बढी काम गरेका छन् । त्यसैगरि, सुधिर कुमार शर्मा चार्टड एकाउन्टेण्ट हुन् । उनले बैंक तथा वित्तीय संस्था र चार्टड एकाउन्टेण्ट पेशामा २० वर्ष भन्दा बढीको अनुभव बटुलेका शर्मा हाल एस. एण्ड एस. एसोसिएट्समा चार्टड एकाउन्टेण्टको रूपमा कार्यरत रहेका छन् ।