नेको इन्सुरेन्सको सञ्चालकमा विनयरमण पौडेल, राष्ट्रिय वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने

काठमाडौं । नेको इन्सुरेन्सको सञ्चालकमा विनयरमण पौडेल नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक पौडेलले कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् । पौडेललाई राष्ट्रिय वाणिज्य बैंकले प्रतिनिधि मनोनित गरि नेको इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक पौडेलले कम्पनीका संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

सहकारी तथा गरिबी निवारणसम्बन्धी एकिकृत तथ्यांकमा सहकारीद्वारा तथ्यांक प्रविष्ट गर्न अटेरी

काठमाडौं । सहकारी तथा गरिबी निवारणसम्बन्धी एकिकृत तथ्यांक (कोपोमिस)मा सहकारीले तथ्यांक प्रविष्ट गर्न अटेरी गरेको पाइएको छ । सहकारीको तथ्यांक व्यवस्थित गर्न कोपोमिसको अवधारणा ल्याइए पनि सहकारी त्यसमा सामेल हुन आनाकानी गरिरहेका छन् । सहकारी विभाग र सहकारी क्षेत्रको तालमेल नमिल्दा कोपोमिस अलपत्र परेको छ । वर्षाैदखि करोडौं खर्च भइसके पनि कोपोमिस उपलब्धिविहिन बन्न पुगेको छ । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारिता तालिम सपापन कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार लिलानाथ शर्माले सहकारीको अटेरीका कारण कोपोमिसमा तथ्यांक राख्न नपाइएको बताए । सरकारले यस वर्ष वाग्मती र प्रदेश १ का सबै सहकारीको तथ्यांक कोपोमिसमा प्रविष्ट गर्ने योजना बनाएको छ । २ वटा प्रदेशका सहकारीको तथ्यांक राखिसकेपछि अर्को वर्ष अन्य पाँच वटा प्रदेशका सहकारीको तथ्यांक प्रविष्ट गर्ने विभागको तयारी छ । रजिष्ट्रार शर्माले सबैले जिम्मेवारी लिएमा कोपोमिस कार्यान्वयन गर्न कठिन नभएको बताए । देशभर ३० हजार सहकारी छन् । तर कोपोमिसमा प्रविष्ट हुने सहकारीको संख्या न्यून छ । रजिष्ट्रार शर्माले सहकारी ऐन २०७४ संसारकै लिभरल भएको दावी गरे । ‘यस्तो ऐन कतै छैन’ उनले भने,‘कार्यान्वयन गर्न जोड दिनुपर्छ ।’ संविधानले सहकारीलाई तीन खम्बे अर्थनीतिमा समावेश गरेसँगै सहकारीको नीतिगत स्पष्ट कायम रहेको बताए । ‘सबैको ध्यान आफ्नो जिम्मेवारीमा रहेको र गर्न सकिने काममा जानुपर्छ’ उनले भने । रजिष्ट्रार शर्माले हालै सहकारी विभागले प्राकाशित गरेको सहकारीको तथ्यांक करेक्सन गर्न आवश्यक भएको बताए । ‘सहकारीको तथ्यांकमा सन्तुष्ट हुने ठाउँ छैन’ उनले भने,‘लकडाउनमा केही नगरी बस्नुभन्दा डाटा आउनु सकारात्मक हो ।’ सहकारीको तथ्यांक नमिल्दो भएको भन्दै रजिष्ट्रार शर्माले छिट्टै तथ्यांक करेक्सन गर्ने बताए । ‘तथ्यांक क्युरिफाइड गरी वास्तविक तथ्यांक ल्याउने छौं’ उनले भने । सहकारीमार्फत धेरै काम गर्न सकिने भएपनि सहकारी बचत तथा ऋणमा मात्रै केन्दिंत भएका छन् । सहकारीमार्फत उद्योग, पर्यटन, कृषिलगायत विविध क्षेत्रमा काम गर्न सकिने भएपनि सहकारीले त्यसो नगरेको उनको भनाइ छ । देशलाई कालोसूचीबाट बचाउन सहकारीले सम्पत्ति सुद्धिकरणका नियम पालना गर्नुपर्ने रजिष्ट्रार शर्माले बताए । १० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीलाई गो एएमएल सफ्टवेयर प्रणाली प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले नगरपालिकास्तरीय सहकारीको अध्ययन तयारी भएको बताए । १ सय ४३ वटै वडामा संयन्त्र तयार गरी सहकारीको अध्ययन गर्ने तयारी भइरहेको बताए । ‘अहिले डाटामा कन्फ्युजन छ’ उनले भने,‘काठमाडौंका सहकारीको वास्तविक तथ्यांक निकाल्न हामी अध्ययनको तयारीमा छौं’ उनले भने । दुई दिनसम्म सञ्चालन भएको तालिममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता र न्यू मिडियामा बसन्त बस्नेत, मेमोरी पावर र मेटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिए । नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन खतिवडाले गरेका थिए ।

ग्रीन लाइफ हाइड्रोको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर भोलि अर्थात (चैत ३ गते) मंगलबार देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीएलएच दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।