हकप्रद सेयर जारी गर्न अरुण हाइड्रोले पायो स्वीकृति, बुक क्लोज कहिले ?
काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यससँगै कम्पनीले १ बराबर ०.५ प्रतिशतको अनुपातमा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन गर्ने प्रयोजनको लागि संस्थाले आगामी चैत ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेदेखि
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई संस्थाको एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यससँगै, एक आपसमा मर्ज भएका यी दुई संस्थाको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो । एक आपसमा मर्ज हुन गत साउन ३२ गते समझदारी गरेका यी दुई संस्थाले गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका हुन् । त्यसपछि दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर) का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो । बिशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि समेत रहेको अग्रवाल इन्स्योरेन्समा संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनीको रुपमा नियुक्त भएका हुन् ।