
आफ्नो त पेशा इन्स्योरेन्सको अभिकर्ता । यो पेशाको विशेषता नै यस्तै छ । आफन्त, इस्टमित्र परिचित वा अपरिचित कोेहीसँग भेट भयो कि सामान्य औपचारिक गफपछि सोध्न थालिहालिन्छ, इन्स्योरेन्स गर्नुभएको छ कि छैन भनेर ।
प्रश्न थपिँदै जान्छन् । जस्तो कि परिवारको इन्स्योरेन्स गर्नुभएको छ ? कतिको गर्नु भएको छ ? किन नगर्नु भएको ? आदि, इत्यादि । सुन्नेले चाख दिएर सुनोस् वा नसुनोस्, पेशागत धर्म अँगाल्दै आफ्ना कुरा भनिरहने ।
सुन्नेले अलिअलि चाख दियो र इन्स्योरेन्स गर्छ गर्छ जस्तो लाग्यो भने तीन चार दिन उसको घर धाउने हो, फोन गर्ने हो भविश्यको सम्भावित ग्राहकलाई ।
हुन पनि हो नि, आजकल ‘मार्केट टफ’ भएको छ । टफ मात्र कहाँ हो र, भ्याकुम पो हुन लागिसक्यो ।
बीमाकर्मी मात्र कहाँ हो र, बैंकर कर्मचारी पनि त्यस्तै व्यस्त देख्छु । उनीहरुको व्यस्तता अफिसको दिन मात्रै होइन, सार्वजनिक विदाको दिन पनि यस्तै छ । भनिरहेका हुन्छन्, तपाइँले खाता खोल्नुभएको छ ? लोन लिनुभएको छ ? कति डेरामा वस्नु हुन्छ, हामी घर बनाउन सस्तोमा होम लोन दिन्छौं आदि, इत्यादि ।
उनीहरुको पनि यस्तो व्यस्तता देख्दा मलाई पनि व्यस्त रहन मन लाग्छ । तर, नोकरी र पैसा भन्ने कुरा जिवन जिउन र पेशागत मर्यादा कायम राख्नलाई हो भन्ने म ठान्दछु । जिवनलाई सहज वनाउन व्यस्त हुनुपर्छ भन्ने मान्दछु । जिउनै विर्सेर व्यस्त हुनु त केका लागि…? आखिर पैसा भन्ने कुरा त सहज र रमाइलोको लागि न हो ।
अक्सर साथीहरु सोध्ने गर्छन्, तिमीले बीमा अभिकर्ता भएर टन्नै कमायौ। खुसी र सुखी पनि छौ । विराटनगरमा घर पनि बनायौ । यत्रो महँगीमा पनि कसरी सकेको हौ ? साथीहरु यस्ता प्रश्नसँगै जिब्रो टोक्दै गरेको धेरै पटक भेटेको छु ।
उनीहरुको अर्काे संसय पनि बाँकी रहन्छ मसँग । भन्छन्, हामीले शनिवार र सार्वजनिक विदाको दिन नभनि काम गर्दा पनि सकेनौं, तिमीले सक्यौ । र, तिम्रो त श्रीमतीसँग पनि राम्रो मिल्ती छ, परिवार पनि सन्तुष्ट छ । हाम्रो त समय दिएन भनेर रिसाउँछन् । ठाकठुक नपरेको त समय नै हुन्न । के ट्रिक छ यार तिमीसँग यस्तो ?
उनीहरुले यसो भनिरहँदा म सोच्छु, अक्सर मेरो शनिवार र विदाको दिन नितान्त मेरो निजी र परिवारको लागि समय हो । बुबाआमा, श्रीमती, छोरी र परिवारको हो । पारिवारिक माहोलले मलाई अफिसको हयाङ्ओभरवाट बचाउँछ । रिफ्रेस बनाउँछ ।
यो समय म कार्यालयलाई दिँदै दिन्न । कुनै हालतमा पनि दिन्न । किनकि यो समयमा मैले मेरो नितान्त निजी जिवन जिउनु छ । विदाको दिन वाहेक अरु समय नितान्त कार्यालयको हो । कार्यालयको समयमा म निजी जिवन सोच्दै सोच्दिनँ । तलव अफिसवाट खाएपछि मलाई काम वाहेक अरु सोच्ने अधिकार पनि त छैन नि । कामको वेला काम मात्र सोच्ने र घरको वेला घर मात्र सोच्ने गर्नुनै पो हो कि मेरो सफलताको राज । साथीहरुले सोध्दा भनिदिउँ कि जस्तो लाग्छ, तिमीहरु अफिसमा घरको कुरा किन गर्छौ हँ ? अनि घरमा अफिसको टेन्सनको पोको किन फुकाउँछौ ? कार्यालय र घरको सामन्जस्यता किन मिलाउँदैनौ ? त्यहि भएर त सफल हुदैनौ, भएनौ ।
जस्तै एउटा उदाहरण वा भनौं, भर्खरैको सामान्य घटना । अस्ति शनिवार छोरी आभ्याले जेरी खान मन लाग्यो भनेर कर गरिन् । अनि विराटनगरको चर्चित न्युरो हस्पिटलको छेउमा रहेको वैजु दाइको जेरी पसलमा परिवारसहित गयौं । जेरी खाँदै थियौं, पल्लो टेवलमा अपरिचित व्यक्ति थिए, सायद इन्स्योरेन्सको कर्मचारी । क्लाइन्टलाई फोनमा भन्दै थिए, बीमाको यो किस्ता आएन है, चाँडै तिर्नु नि, नत्र जरिवाना लाग्छ ।
उनले यसो भनिरहँदा पल्लो टेवलमा अर्का मान्छे फोनमा व्यस्त थिए, लोनको किस्ता आएन, अस्ति पनि ढिलो गर्नुभयो भनेर क्लाइन्टलाई झपार्दै थिए सायद । लोन लिएपछि तिर्नुपर्छ भन्ने थाहा छैन ? अनि फोन राखेर फतफताउँदै थिए, बिदाको दिन पनि अफिसको टेन्सन । उनकी श्रीमति पनि फतफताउँदै थिइन्, हजुरसँग झन् शनिवार रमाइलो गरुम् भनेको हजुर भने अफिसकै फोनमा व्यस्त, यहि फोनसँग विवाह गर्नु, म गएँ । अनि श्रीमानले फकाउन थाले ।
उनीहरु फतफताईरहँदा मेरी छोरीले विस्तारै मलाई भन्दै थिइन्, हाम्रो बाबा त अफिसको समयमा हामीलाई पनि विर्सेर काम गरिसिन्छ । हाम्रो फोन उठाइसिन्न, अनि विदाको दिन चाहिँ अफिसको फोन मरे उठाइसिन्न, खाली हामीसँग मात्र होइसिन्छ है मामु ।
छोरीले यसो भनिरहँदा मलाई मेरी श्रीमतीले फुराएको जुक्ति याद आयो, अफिसको दिन कार्यालयको मोवाइल वोक्ने र बिदाको दिन यसलाई साइलेन्ट राखेर अति जरुरी मात्र उठाउने । र, शनिवारकोे दिन चाहिँ मेरो नितान्त र पारिवारिक समय भएकोले श्रीमतीले सुटुक्ट किनिदिएको नयाँ अर्को सिम, जसको नम्वर परिवार वाहेक कसैलाइ दिएको छैन, त्यो मात्र बोक्ने । अर्थात्, हामी व्यस्त इन्स्योरेन्स, बैंकर, शेयर ब्रोकरको लागि उपयुक्त प्यारो शनिवारे सिम ।
होत है छोरी, बाबा अफिसको फोन उठाइसिन्न है शनिवार, शनिवार त शनिवारे सिम मात्र चल्छ नि बाबाको । अरु दिन त बाबा कर्मचारी, आजको दिन तिम्रो हाम्रो बाबा मात्र । धन्यवाद छ, शनिवारे सिमलाई भन्दै हामी तिनै जना एकै साथ हाँस्यौं र टन्न जेरी खायौं ।
साथीहरुले घरलाई अफिस र अफिसलाई घर बनाइदिँदा टेन्सन भएको मात्र हो । अफिस र घरको सामन्जस्यता मिलाउन नसकेको मात्र हुन साथीहरुले । शनिवार र विदाको दिन पनि यति काम गरें, उति काम गरें भनेर बार र घन्टामा गर्व गर्नुभन्दा कार्यालय समयमा पुरै दत्तचित्त भएर गुणस्तरीय र परिणाममुखि काम गरे सफल भइहालिन्छ नि ।
भनाइको अर्थ शनिवार यसले मलाई एउटा रिफ्रेस्मेन्ट दिन्छ र भोलिको कार्यालयको काममा नयाँ ताजगी दिन्छ । सायद मैले यसो गर्नुनै नै हो केहि हदसम्म मेरो सफलताको राज अनि पारिवारिक मिल्ती र सुखको ट्रिक । आजको व्यस्त कर्मचारीहरुले अफिस र परिवारलाई सँगसँगै मिलाएर लानैपर्छ । त्यसो हो भने बैंकिङ, बीमा, सेयर ब्रोकर र व्यस्त कर्मचारीलाई उपयोगी छ है शनिवारे सिमकार्ड ।