उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा.शाह नियुक्त, सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा डा. ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. ढुङ्गानालाई सोहि दिन सम्पन्न संस्थाको साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । र, त्यसपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाको सञ्चालक पदमा ६ जनालाई निर्वाचित भएका छन् । अध्यक्षसहित संस्थापक सेयरधनीको समूहबाट ४ जना, सर्वसाधारण समूहमा २ जना र स्वतन्त्र सञ्चालकमा १ गरी ७ जनाको सञ्चालक समिति बनेको छ । संस्थापक समूहबाट खड्ग बहादुर राना, खिलराज मैनाली, तुलसीराम खनालले प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण समूहबाट राजन तिवारी र यमकुमार खड्काले र स्वतन्त्र सञ्चालकमा भार्गव धितालले प्रतिनिधित्व गर्ने छन् । संस्थाको साधारण सभा रुपन्देहीको भरहवास्थित होटल पौवामा सम्पन्न भएको थियो ।

बोनसपछि आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ११७५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १२५७ रुपैयाँमा किनबेच भएको थियो । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न साे दिन सभा बाेलाएकाे हाे । सम्बन्धित समाचार लाभांश र हकप्रद पारित गर्न आईएमई जनरल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

आरम्भ चौतारी लघुवित्तले ८.८५ प्रतिशत लाभांश बाँड्ने

काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ । साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिए । उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति/समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेलसहित छ जनालाई नयाँ सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्विरोध निर्वाचित भएको घोषण गरेका थिए । त्यसअनुसार संस्थापक समूह क बाट अध्यक्ष पोखरेल, दीपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् । सञ्चालकको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको छ । उनले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्था बनाउने अठोट व्यक्त गरे । देशभरका लघुवित्त वित्तीय संस्थाको साझा संस्था लघुवित्त सङ्घ नेपालका केन्द्रीय अध्यक्षसमेत रहनुभएका पोखरेलले आफूले नेतृत्व गरेको लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाका रूपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूसँग रहेको बताए । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त ‘मर्ज’ भएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बनेको हो । एकीकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोवार सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोवार शुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । रासस