अब लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने, मोबाइल एपसहितको नयाँ प्रणाली ल्याउँदै ब्रोकर

काठमाडौं । अब दोश्रो बजारका लगानीकर्ताले मोबाइलबाटै सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले मोबाइल एपलिकेशनसहितको यो प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका हुन् । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकर्स एशोसियशन अफ नेपालले सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने बताएको छ । साथै, संस्थाले नयाँ कारोबार प्रणाली (टीएमएस) ल्याउने प्रकृया अगाडि बढाएको छ । एशोसिएशनले संयुक्त पहलमा दशभन्दाबढी राष्ट्र राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली ल्याउने सम्झौतागरि उक्त प्रणाली लोकरलाईजेशन/कष्टोमाईजेशन गर्ने काम तीर्व गतिमा अघि बढेको बताएको छ । कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न संस्थाले नयाँ प्रणाली ल्याउन लागेको हो । मल्टी एसेट, मल्टी एक्स्चेञ्ज ट्रेडिङ्ग प्लायटफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एपलिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने संस्थाको विश्वास रहेको छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्याङ्कहरु राखिने छन् । त्यस्तै, लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशोसिएशनले जनाएको छ । स्टप लस, टेक प्रफिट, आफ्टर मार्केट अडर, अल्गोरिदमिक वा हाई फ्रिक्वेन्सी ट्रेडिङ्ग जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न सहज हुने संस्थाले जानकारी गराएको छ ।

आरएमडीसी लघुवित्तकाे जोखिम व्यवस्थापन तालिम सम्पन्न

काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीयकाे कोहलपुरको आयोजनामा ‘जोखिम व्यवस्थापन तालिम’ चैत्र २६–२७ मा नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये १२ जिल्लामा रहेका ३४ वटा साझेदार संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तर ३४ जना सहभागीहरुले भाग लिएका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसी लघुवित्त वित्तीयका का.मू.नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा रहेका थिए । २ दिने तालिमको क्रममा थापाले जोखिमको बारेमा सैद्धान्तिक पक्षको साथै वित्तीय संस्थाहरुमा देखा पर्ने विभिन्न जोखिमहरु, सोको पहिचान, सोको न्यूनिकरण गर्ने उपायहरु, कर्जाका जोखिमको सुचकहरु, खराब कर्जाको प्रभाव, कर्जा जोखिम व्यवस्थापन, सहकारीहरुमा हुने विभिन्न किसिमका जालसाझीहरु, जालसाझी न्यूनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए ।    

पुनर्बीमा कम्पनीको प्रगतिप्रति नियामक असन्तुष्ट, विदेशी साझेदार वा विज्ञ भित्र्याउन सुझाव

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको प्रगतिप्रति असन्तुष्टि जनाएको छ । नेपालमा एक मात्र पुनर्बीमा कम्पनी भएर एकाधिकारी बजार पाउँदा र सरकारले नै निश्चित व्यवसाय ग्यारेन्टी गरेको अवस्थामा पनि कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न नसकेको भन्दै समितिले असन्तुष्टि जनाएको हो । कम्पनीले विदेशी पुनर्बीमा कम्पनीबाट अपेक्षाकृत व्यवसाय ल्याउन नसकेको र विदेशमा विश्वास आर्जन गरी व्यवसाय विस्तार गर्न नसके समितिका एक अधिकारीले बताए । सरकारले पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारका लागि नीतिगत रुपमै ग्यारेन्टी गरेको भएपनि कम्पनीले अन्तराष्ट्रिय बजार खोज्न नसकेको उनको भनाइ छ । ‘नेपाल पुनर्बीमा कम्पनीमा बहुसंख्यक सेयर सरकारको छ, सरकारले नै नेपाली बीमा कम्पनीहरुले ल्याएको सुरु व्यवसायको २० प्रतिशत आम्दानी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने भन्ने नीतिगत व्यवस्था गरेको छ, तर यसरी संरक्षण गर्दा पनि कम्पनीले राम्रो प्रगति गर्न सकेन, हाम्रो चिन्ता यही हो,’ ती अधिकारीले भने । कम्पनीको व्यवसायिक अवस्था सुधार्न गर्नको लागि आफूले सक्दो सहयोग गर्ने बचन समितिले दिएको छ । यसका लागि विशेष गरेर दुई विकल्पमा गृहकार्य गर्न समितिले कम्पनीलाई सुझाव दिएको छ । ‘यही तालमा अघि बढ्ने हो भने नेपाल पुनर्बीमा कम्पनीले प्रगति गर्न नसक्ने करिब पक्का छ, विश्व बजारमा आफ्नो उपस्थिति देखाउनको लागि सिंगापुर कार्यक्षेत्रमा रहेका विदेशी पुनर्बीमा कम्पनीलाई साझेदारको रुपमा भित्र्याउन सके सबैभन्दा राम्रो हुन्छ, तत्काल त्यसो गर्न नसक्ने हो भने पनि नेपाली बजारबाट वा अन्तराष्ट्रिय बजारबाट भएपनि उच्च व्यवस्थापनमा प्रभावशाली व्यक्तित्व भित्र्याउनु आवश्यक देखिएको छ,’ समितिका ती अधिकारीले थपे । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यसको ४४ प्रतिशत सेयर लगानी नेपाल सरकारको छ । १६ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ । बाँकी सेयर स्वामित्व बीमा कम्पनी र अन्य कम्पनी तथा व्यवसायिक समुहको छ । सरकारको बहुमत सेयर भएको कारण पनि सो कम्पनीले उल्लेख्य प्रगति गर्न नसकेको आकलन गर्न थालिएको छ । कम्पनीको संचालक समिति अध्यक्ष तथा व्यवस्थापनको प्रमुख (सिइओ) नेपाल सरकारले नियुक्त गर्ने गरेको छ । सरकारको हस्तक्षेपका कारण योग्य र व्यवसायिक व्यक्ति कम्पनीमा आउन समस्या भएको र राजनीतिक नियुक्तिका आधारमा आउने व्यक्तिले व्यवसायिक योजना प्रभावकारी रुपमा तर्जुमा गरी कार्यान्वयन गर्न गराउन नसकेको अनुभत गरिएको छ । ‘तत्काल विदेशी साझेदार ल्याउन सकिदैन भने उच्च व्यवस्थापनमा ३ जनासम्म दक्ष जनशक्ति आन्तरिक (नेपाली) वा वाह्य (विदेशी) बजारबाट लिएर अघि बढ्नुस् भन्ने हाम्रो सुझाव हो, हामीले यति सहयोग गर्न खोज्दा पनि कम्पनी प्रभावकारी योजना सहित आउदैन भने चिन्ता गर्नु वाहेक अन्य विकल्प हामीसँग पनि हुन्न,’ समितिका ती अधिकारीले भने । कम्पनीका गत पुस मसान्तसम्मका केही सुचक चुक्ता पुँजीः १० अर्ब जगेडा तथा कोषः निर्जीवन व्यवसायमा २ अर्ब ८७ करोड, जीवन व्यवसायमा ६१ करोड ९१ लाख बीमा कोषः निर्जीवन व्यवसायमा २ अर्ब ३ करोड दीर्घकालिन लगानी तथा कर्जाः निर्जीवन व्यवसायमा १३ अर्ब १३ करोड, जीवन व्यवसायमा ९ करोड ५२ लाख अल्पकालिन लगानी तथा कर्जाः निर्जीवन व्यवसायमा ३ अर्ब ६२ करोड, जीवन व्यवसायमा ३७ करोड २१ लाख खुद नाफाः निर्जीवन व्यवसायमा ४५ करोड ४३ लाख, जीवन व्यवसायमा ८ करोड २६ लाख बीमा शुल्कः निर्जीवन व्यवसायमा ३ अर्ब ४० करोड, जीवन व्यवसायमा ३९ करोड ४६ लाख पुनर्बीमा कमिसन आयः १ करोड ६३ लाख पुनर्बीमा कमिसन खर्चः ९९ करोड ८ लाख