सगरमाथाको आरोग्य बीमा योजनाः १६ सय तिरे ७ लाखको दाबी पाइने, भुक्तानी १० दिनमै

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको स्वास्थ्य स्थितिबाट सिर्जना हुन सक्ने आर्थिक जोखिमलाई न्युनिकरण गर्नको लागि साे बीमालेख सार्वजनिक गरेको हो । नयाँ वर्षमा नयाँ संकल्पको नारासहित सार्वजनिक भएको यो योजना अन्तर्गत एक्सिडेन्टल, मेडिकल र क्रिटिकल गरी तीन किसिमको बीमा हुने छ । जसले ७ लाखदेखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, १ लाखदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र १ लाखदेखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकारका रोगको जोखिम एउटै बीमाले कभर गर्ने छ । कम्पनीले यो बीमालेख आगामी बैशाख २ गतेदेखि बिक्री गर्ने जनाएको छ । ८४ वटा शाखाबाट बिक्री गरिने यो बीमालेख ६ देखि ६५ वर्ष उमेर समूहका नागरिकले खरिद गर्न पाउने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रवण कुमार रावलले बताएका छन् । यस बीमालेखमा दुर्घटना बीमाका अतिरिक्त औषधोपचार बीमा र गहन प्रकृतिका घातक रोगहरुको जोखिम एउटै बीमालेखले सुरक्षण गर्ने गरी बीमालेख तयार गरिएको जानकारी गराए । यो बीमालेखले विपन्न वर्गका व्यक्तिहरुको स्वास्थ क्षेत्रमा आउन सक्ने आर्थिक चुनौतिका लागि बढी फलदायी हुने किसिमबाट सबै वर्गका व्यक्तिहरुलाई लक्षित गरी बीमालेखमा जोखिमहरु समावेश गरिएको डीसीईओ रावलले बताए । साथै, प्रविधिमैत्री यो बीमालेख घर तथा अफिस जहासुकैबाट पनि सजिलै खरिद गर्न सकिने उनले जानकारी गराए । कति लाग्छ पैसा ? बीमा क्षेत्रमै पहिलो पटक सार्वजनिक भएको यो नविनतम योजना सस्तो रहेको कम्पनीले जनाएको छ । इच्छुकले यो बीमालेख खरिदमा वार्षिक न्युनतम एक हजार ६ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ मात्रै बीमाशुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । यदि तपाईंले ७ लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको औषध उपचार बीमा र एक लाख रुपैयाँ बराबरको गम्भिर प्रकारका रोगको बीमा गर्नुभयो भने एक वर्षमा जम्मा एक हजार ६ सय रुपैयाँ मात्रै तिरे पुग्छ । तर, यदि तपाईंले १० लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बीमा, २ लाख रुपैयाँ बराबरको औषध उपचार बीमा र २ लाख रुपैयाँ बराबरको गम्भिर प्रकारका रोगको बीमा गर्नुभयो भने एक वर्षमा जम्मा ३ हजार रुपैयाँ मात्रै तिरे पुग्छ । साथै, आफ्नो इच्छा अनुसार यो बीमा रकम फेरबदल पनि गर्न सकिने कम्पनीले जानकारी गराएको छ । १० दिनमै बीमा दाबी भुक्तानी पाइने सगरमाथा आरोग्य स्वास्थ्य बीमाको दाबी गर्ने प्रकृया पनि सजिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमितले कम्पनीले भने बमोजिमको डकुमेन्ट अर्थात विवरणहरु बुझाएको १० दिनमै बीमा दावी रकम भुक्तानी पाउने छन् । यसरी सार्वजनिक भयो सगरमाथा इन्स्योरेन्सको आरोग्य स्वास्थ्य बीमा, यस्ता छन् विशेषता (भिडियो)  यसको लागि बीमितले अस्पतालबाट डिस्चार्ज भएको अथवा रोग पत्ता लागेको ७ दिनभित्र लिखित वा मौखिक जानकारी दिनुपर्ने छ । उनीहरुले अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई बीमा दाबी रकम भुक्तानीको फारम भर्नुपर्ने हुन्छ । त्यसपछि बीमितले दावी फारम भरेको अर्थात कम्पनीले भनेबमोजिमको डकुमेन्टहरु पेश गरेको एक हप्ताभित्रै सबै बीमा दाबी रकम भुक्तानी गरिने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, प्याकेजमा आएको बीमालेखले अबको बीमा बजारलाई फराकिलो बनाउने विश्वास रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । सगरमाथा इन्स्योरेन्सले २०५३ साल साउन २ गतेबाट बीमा कारोबार शुरु गरेको हाे । कारोबार शुरु गरेदेखि नै हालसम्म नविनतम प्रडक्टका साथ सक्षमरुपमा बीमा व्यवसाय गरिरहेको कम्पनीले जनाएको छ ।

नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १५ लाख भुक्तानी गरेकाे छ । बैंके ग्राहक स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई उक्त रकम प्रदान गरेको हाे । स्व. श्री भोज बहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोह बिच हस्तान्तरण गरेका थिए । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

एनएमबि बैंक नयाँ वर्ष अफर: दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंकले ग्राहकले दराजमा विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र कम्पनीबीच ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान दिने विषयमा दराजसँग द्विपक्षीय समझदारी भएको हो । यस सम्झौता अन्तर्गत एनएमबि बैंकका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउनेछन् । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।