सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा पाेखरेल र श्रेष्ठ निर्वाचित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो । इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा आज(असार २३ गते) बुधबार सम्पन्न भएको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । यस्तै सभाले सुजन काफ्ले एण्ड एसाेसिएट्स, चार्टड एकाउन्टेण्टलाई कम्पनीकाे वार्षिक लेखा परिक्षकमा नियुक्त गर्ने संचालक समितिकाे प्रस्ताव पारित गरेकाे छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सभाले एनएफआरएस बमोजिमको वित्तीय विवरण सर्वसम्मत रुपमा पारित गरेको छ ।

आरविवि म्युचुअल फण्ड १ को बिक्री खुला, आवेदकले उच्च प्रतिफल पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आज (असार २३ गते) देखि आरविवि म्युचुअल फण्ड खुला गर्ने भएको छ । मर्चेन्टले आरविवि म्युचुअल फण्ड १ नामक एक अर्ब रुपैयाँ बराबरको योजना निष्काशन तथा बिक्री खुला गरेको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रतिईकाई मुल्य १० रुपैयाँ रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ । इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

जीवन विकासको आईपीओ बाँडफाँडः भाग्यमानी ५ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेकोे आईपीओको बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज(असार २३ गते) बिहान उक्त आईपीओको बाँडफाँड सम्पन्न गरेको हो । यससँगै आवेदन दिनेमध्ये भाग्यमानी ५ जनाले संस्थाको अधिकतम अर्थात ११ कित्ता सेयर पाएका छन् । क्यापिटलको अन्तिम तथ्यांक अनुसार आईपीओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाले आवेदन दिएका थिए । जसमध्ये २० लाख १८ हजार ३ सय ८ जना आवेदकले रितपूर्वक आवेदन दिएका थिए भने ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ८४ हजार ८०१ जनालाई गोलाप्रथाबाट १० कित्ताको दरले लघुवित्तको सेयर बाँडफाँड गरिएको छ । र सोमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने ५ जना आवेदकलाई थप एक/एक कित्ता गरी कूल ११ कित्ता सेयर बाँडफाँड गरिएको हो । क्यापिटलले धितोपत्र बोर्डको सेयर बाँडफाँड निर्देशिका अनुसार ग्रोलाप्रथाबाट पहिलो चरणमा कूल १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँड गरेको हो । र, बाँकी रहेको ५ कित्ता सेयर थप ५ जनालाई बाँडफाँड गरेको क्यापिटलले जनाएको छ । संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका थिए । जुन सर्वसाधारणलाई छुट्याएको तुलनामा १६.९२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा १८ लाख ४८ हजार १५ कित्ता सेयर छुट्याएको थियो । लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।