यूनियन लाइफले आईपीओबाट उठेको ३५ प्रतिशत रकम पूँजी बजारमा लगानी गर्ने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले आगामी असार २४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरेको छ । त्यस्तै, बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने कम्पनीले जनाएको छ । आईपीओ जारी गर्नुको उद्देश्य कम्पनीले सर्वसाधारणमा ६ लाख ४५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । कम्पनीको सेयर पुँजी संरचना मिलान गर्न इन्स्योरेन्सले सो मात्राको आईपीओ जारी गरेको हो । त्यस्तै, कम्पनीले आफ्नो सेवा विस्तार गरि बीमा व्यवसायको जोखिम धारण बढाउनको लागि आवश्यक पर्ने पूँजीको ब्यवस्था गर्न पनि सेयर जारी गरेको हो । साथै, इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पुँजी संकलन गर्न उक्त सेयर जारी गरिएको कमपनीले जनाएको छ । आईपीओबाट उठेको रकम कहाँ कहाँ लगानी गर्छ ? इन्स्योरेन्सले जारी गर्न लागेको आईपीओबाट ६४ करोड ५० लाख रुपैयाँ उठ्ने छ । जसमध्ये इन्स्योरेन्सले सबैभन्दा बढी एफडी (मुद्दती निक्षेप) मा लगानी गर्ने छ । कम्पनीले विभिन्न वित्तीय संस्थाको एफडीमा कूल ४१ करोड ९२ लाख ५० हजार रुपैयाँ अर्थात ६५ प्रतिशत लगानी गर्ने छ । र, बाँकी ३५ प्रतिशत रकम पुँजी बजारमा लगानी गर्ने छ । कम्पनीले नेपाल सरकारको ऋणपत्र तथा विकास ऋणपत्रमा १६ करोड १२ लाख ५० हजार रुपैयाँ अर्थात २५ प्रतिशत र पब्लिक कम्पनीको सेयरमा ६ करोड ४५ लाख रुपैयाँ अर्थात १० प्रतिशत गरी ३५ प्रतिशत रकम पुँजी बजार लगानी गर्ने भएको हो । साथै, बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसर प्रदान गरेकोले त्यस्ता क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकमको उपभोगको लागि पहल गरिने इन्स्योरेन्सले जनाएको छ । आईपीओपछि २ सञ्चालक नियुक्त गरिने, कसले कति पाउँछन् भत्ता ? इन्स्योरेन्सको सञ्चालक समितिमा ५ जना रहेका छन् । कम्पनी ऐन अनुसार कम्पनीको सञ्चालक समितिमा कुल ७ जना रहनुपर्ने व्यवस्था छ । तर कम्पनीमा भने सर्वसाधारण समूहका दुई जना सञ्चालकको पद रिक्त रहेको छ र आईपीओ निष्काशन पश्चात नियुक्त गरिने इन्स्योरेन्सले जानकारी गराएको छ । हाल इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षता शुलभ अग्रवालले गरिरहेका छन् । त्यस्तै, सञ्चालकमा सिमा गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । अध्यक्षसहित यी ३ जना सञ्चालकले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै, संस्थाको स्वतन्त्र विज्ञ संचालकमा भने देविप्रसाद शर्मा रहेका छन् । सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षले प्रतिबैठक ८ हजार रुपैयाँ र सञ्चालकले ७ हजार रुपैयाँ भक्ता पाउने छन् । यो बाहेक अन्य कुनै सुविधा नदिइएको इन्स्योरेन्सले जानकारी गराएको छ । उच्च व्यवस्थापकीय तहमा कति जना ? इन्स्योरेन्सको उच्च व्यवस्थापकीय तहमा तीन जना रहेका छन् । जसमध्ये प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार लाल कर्ण, उप प्रमुख कार्यकारी अधिकृतमा कपिल कुमार दाहाल र बरिष्ठ नायब महाप्रबन्धकमा कोषराज सुवेदी रहेका छन् । कम्पनीका सीईओ लाल कर्णले आर्थिक वर्ष २०७६/७७ अर्थात एक वर्षमा पारिश्रमिकको रुपमा ९० लाख ८४ हजार ८०१ रुपैयाँ बुझेका छन् । त्यस्तै, दाहालले ५९ लाख ४४ हजार ५२१ रुपैयाँ र सुवेदीले ५५ लाख ३७ हजार ७ रुपैयाँ पारिश्रमिक बुझेका छन् । हाल कम्पनीमा कूल ४०८ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये ३४० जना स्थायी र ४२ जना अस्थायी रुपमा कार्यरत छन् । बाँकी २६ जना भने परिक्षणकालमा रहेका कम्पनीले जानकारी गराएको छ । यस्तो छ वित्तीय अवस्था २०७४ मंसिरदेखि आफ्नो व्यवसायिक कारोवार शुरु गरी असार मसान्त अर्थात् करिब पाँच वर्षको छोटो अवधिमा नै बीमितहरुको चाहना र आवश्यकता अनुसारका स्तरीय ग्राहकोन्मुख सेवा तथा सुविधाहरु प्रदान गरेर उपलव्ध श्रोत र साधनको उपयुक्त परिचालन गरी तुलनात्मक रुपमा उत्साहजनक उपलब्धि हासिल गरेको छ । स्थापनाकालदेखि २०७७ चैत मसान्तको छोटो अवधिमा नै इन्स्योरेन्सको कुल बीमाशुल्क १३ करोड ८१ लाख रुपैयाँ, सेयरधनीहरुको कोषमा ७३ करोड रुपैयाँ तथा बीमितहरुको अधीनमा रहने जीवन बीमा कोषमा ६६९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । २०७७ पुस मसान्तसम्म कम्पनीको बीमाशुल्क ३ अर्ब २१ करोड रहेको छ । जुन बीमा व्यवसायमध्ये ५ प्रतिशत बीमा शुल्कको हिस्सा कायम राख्न इन्स्योरेन्स सफल भएको छ । सो अवधिसम्म सम्पूर्ण बीमा व्यवसायको कुल बीमाशुल्क ६२ अर्ब ४३ करोड रहेको छ । हाल इन्स्योरेन्सको अधिकृत पूँजी २ अर्ब १५ करोड, जारी पूँजी २ अर्ब १५ करोड र चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । प्रतिसेयर आम्दानी र नेटवर्थ कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा अपरिष्कृत विवरण अनुसार इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३३.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.४६ रुपैयाँ रहेको छ । चालु आव २०७७/७८ मा प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ । त्यस्तै, आगामी आव २०७८/७९ मा उक्त रकम क्रमशः ६.२३ रुपैयाँ र १४३ रुपैयाँ पुग्ने संस्थाले प्रक्षेपण गरेको छ । सञ्चित नाफा गत आर्थिक वर्षमा ७२ करोड ९३ लाख रुपैयाँ सञ्चित नाफा कमाएको इन्स्योरेन्सले चालु आवमा ७८ करोड ५१ लाख रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८/७९ मा ९१ करोड ९१ लाख रुपैयाँ र आव २०७९/८०मा १ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले अनुमान गरेको छ । कति कित्ताको लागि आवेदन दिन सकिन्छ ? इच्छुकले असार २४ गतेदेखि असार २८ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा आवेदन नपरेमा ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ । उनीहरुले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मको सेयरको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । रेटिङ्ग आईपीओ निष्काशन गर्नको लागि इन्स्योरेन्सले ईक्रा नेपालबाट ‘(इक्राएनपी-आईआर) बीबीबी’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायितव बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ । उक्त रेटिङ्गको अवधि एक वर्ष रहने छ ।

आरविवि म्युचुअल फण्ड १ भोलिदेखि खुला हुने, आवेदकले उच्च प्रतिफल पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले भोलि (असार २३ गते) देखि आरविवि म्युचुअल फण्ड खुला गर्ने भएको छ । मर्चेन्टले आरविवि म्युचुअल फण्ड १ नामक एक अर्ब रुपैयाँ बराबरको योजना सो दिनदेखि निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रतिईकाई मुल्य १० रुपैयाँ रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ । इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

नेपाल एग्रोको १४ प्रतिशत बोनस सेयर पारित, इन्फिनिटीले एक्वायर गर्ने

कास्की । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १४ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको पाचौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए । कार्यक्रममा अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्र सहित सम्मान गरेको बताइएको छ । संस्थाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईंले बताए । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेकोमा हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१ हजारभन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिए ।