एकैदिन ७६ करोड रुपैयाँ बढीको आईपीओ स्वीकृत, सबैभन्दा बढी इन्स्योरेन्सको
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको छ । बोर्डले गत असार ३१ गते मात्रै विभिन्न तीन कम्पनीलाई सो मात्रा अर्थात ७६ लाख २३ हजार ७५० कित्ता आईपीओ जारी गर्न स्वीकृति दिएको हो । बोर्डले सानिमा लाइफ एन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ्ग पावर कम्पनी गरी तीन कम्पनीलाई उक्त स्वीकृत दिएको हो । जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सले सबैभन्दा बढीको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले एक सय अंकित दरको ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको छ । यससँगै अबको केही दिनमै इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ । त्यसैगरी, मानुषी लघुवित्तले अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति पाएको हो । लघुवित्तले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ । त्यसैगरी, सामलिङ्ग पावर कम्पनीले पनि स्थानिय र सर्वसाधारणलाई गरी कूल १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको हो । यससँगै कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्रा अर्थात १२ लाख ३० हजार कित्ता सेयर जारी गर्ने छ ।
ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफ इन्स्योरेन्समा इन्टर्न गर्ने अवसर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । साथै, बीमा सचेतना अभियानमा पनि ग्लोबल कलेजको साथ सहयोग रहने सम्झौतामा समेटिएको छ । उक्त सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।
गुराँस लाइफ इन्स्योरेन्समा सर्वसाधारणको सेयर स्वामित्व बढ्यो
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व भएको छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत रहेको थियो । बनेपामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ९७ करोड रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य १३.५० रुपैयाँले बढेर प्रतिकित्ता ७९७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशतले बढी हो ।