पुँजीगत लाभकर गणना गर्न मेरो सेयरमा थपियो नयाँ सुविधा, आजैदेखि सञ्चालनमा ल्याइने
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर प्रणालीमा धितोपत्रको स्वामित्व (अर्थात सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा थपिएको छ । आजदेखि पुँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएसँगै सिडिएससीले सोको गणनाको गर्नको लागि उक्त सुविधा थप गरेको हो । उक्त सुविधा आज(साउन ३ गते) बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याइने भएको छ । यससँगै, मेरो सेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो सेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न सिडिएसले आग्रह गरेको छ । साथै, यो सम्बन्धी थप जानकारी लिन परेमा लगानीकर्ताले सिडिएसको वेवसाइट तथा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएसमा सम्पर्क गर्न सक्नेछन् । सरकारले नयाँ आर्थिक वर्षदेखि पुँजीगत लाभकर न्युनतम ५ प्रतिशत र अधिकतम ७.५० प्रतिशत लागू गर्ने व्यवस्था गरेसँगै आजदेखिको कारोबारमा उक्त व्यवस्था लागू हुने भएको छ । यो व्यवस्थासँगै अल्पकालीन लगानीकर्ता (अर्थात ३६५ दिनसम्म सेयर होल्ड गर्ने) ले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । र, त्यो भन्दा बढी अवधि होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत नै लाभकार तिर्नुपर्ने छ । यसअघि दुबै किसिमका लगानीकर्तालाई एउटै अर्थात ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्दै आएको थियो । ‘२०७८ साउन १ गतेदेखि हुने सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएकोले सम्पूर्ण लगानीकर्ताहरूलाई सोही अनुसार गर्नुहुन अनुरोध गरिन्छ,’ सिडिएससीकाे विज्ञप्तिमा उल्लेख छ ।
सेयरमा मनपरी लगानी गर्ने जनरल इन्स्योरेन्सका दुई कर्मचारी निलम्बित
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लगानी विभागका दुई कर्मचारीलाई निलम्बन गरेको छ । कानुनी व्यवस्था विपरित लगानी गरेको र कम्पनीलाई जोखिममा पारेको बीमा समितिको रिपोर्टका आधारमा कम्पनीले आफ्ना दुई कर्मचारी निलम्बन गरेको हो । कम्पनीले लगानी विभाग प्रमुख तथा सहायक महाप्रवन्धक निल बराली र अधिकृत रंग साउदलाई निलम्बन गरेको एक सञ्चालकले बताए । उनीहरुलाई ३० दिनका लागि निलम्बन गरिएको उनले जानकारी दिए । कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले भने यस विषयमा अनविज्ञता प्रकट गरे । कम्पनीको स्थलगत निरिक्षणपछि उनीहरुलाई कारवाही गर्न बीमा समितिले गत बैशाख पहिलो साता लिखित निर्देशन दिएको थियो । सेयरमा अन्धधुन्ध लगानी गरेको भन्दै बीमा समितिले कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवाललाई पनि निलम्बन गरेको थियो । निलम्बन गरेको दुई महिनापछि उनलाई बीमा समितिले सफाइ दिएको छ । तर अग्रवालले असार ३१ गते सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन् । उनको ठाउँमा मिता मुरारका अग्रवाल नियुक्त भएका छन् । सम्बन्धित समाचार जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाललाई सफाइ सेयरमा अन्धाधुन्ध लगानी गर्ने बीमा कम्पनीको सञ्चालक निलम्बित, विभागीय प्रमुखहरु पनि कारवाहीमा
बनेपाको नालामा प्रोग्रेशिभ फाइनान्स विस्तारित काउन्टर सञ्चालन
काठमाडाैं । प्रोग्रेशिभ फाइनान्सले वाग्मति प्रदेशको बनेपा नगरपालिका वडा नं ४ नालामा काउन्टर विस्तार गरी कारोबार शुरु गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाको विस्तारित काउन्टर थप भएपछि ११ वटा शाखा तथा ५ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ । बनेपा शाखा कार्यालय अन्तर्गत रहने गरी स्थापना गरिएको विस्तारित काउन्टरबाट निक्षेप संकलन, भुक्तानी तथा रेमिटेन्स सुविधाहरु प्रवाह गरिने संस्थाले जनाएकाे छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड-१९को महामारीका बीच स्थापना गरिएको नयाँ विस्तारित काउन्टरले स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस फाइनान्सले एटिएम, मोबाइल बैंकिङ्ग, इ-बैंकिङ्ग, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ्ग तथा रेमिटान्स सेवाहरुको उपलब्ध गराउँदै आएकाे छ । संस्थाले छिट्टै शाखारहित बैकिङ्ग सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जानकारी दिएकाे छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहरमा थप पाँच वटा शाखा तथा एउटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको जनाएकाे छ ।