अब निगमका डिलर तथा पार्टनरले कनेक्ट आइपिएसबाटै भुक्तानी गर्न सक्ने
काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपिएस (वेब , मोबाईल एप तथा गेटवे), कर्पोरेट्पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अनलाईन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै यस मार्फत निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भइसकेकाे छ । विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसिएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ । यससँगै निगमले एनसिएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको जनाएकाे छ । नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगम, देशमा पेट्रोलियमजन्य पदार्थ आयात गर्ने, भण्डारण गर्ने तथा वितरण गर्ने एक मात्र निकाय हो । सन् १९७० मा स्थापना गरिएको निगमले झण्डै एक वर्ष लामो प्रयास पछि एसएपीको सफल कार्यान्वयन गरेको हो र यस कदमले निगमको व्यवस्थापन तथा प्रशासनमा नयाँ आयम ल्याउने विश्वास गरिएको कम्पनीले जनाएकाे छ । डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ? १) डिलरले आफ्नो बैंक/वित्तिय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो कस्टमर आइडी र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ । २) बैंक/ वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ३) यसरी शाखाबाट १० लाखसम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार १ करोडसम्म तथा नन् रियल–टाइममा २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । ४) त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न http://www.connectips.com,यसको मोबाईल एप, ‘कर्पाेरेट पे’तथा डिलरको पोर्टलमा जोडिएको कनेक्टआइपिएस(गेटवे) मार्फत पनि अन्लाईन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।
म्युचुअल फण्डको बढ्दो बजार मूल्यः लाभांशको लोभअघि बुझ्नु पर्छ यी तथ्य
काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो । दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि लगानीकर्ताहरु म्युचुअल फण्डमा आकर्षित भएको देखिन्छ । जुन, विभिन्न कम्पनीले जारी गरेका विभिन्न प्रकारका म्युचुअल फण्डको आवेदन संख्याबाटै प्रष्ट हुन्छ । केही समय अघि मात्रै बिक्री खुला भएका म्युचुअल फण्डहरु बिक्नलाई धौधौ पर्थ्यो । तोकिएको ढिलो मितिसम्म निष्काशन गर्दा पनि संस्थाले माग गरेको जति आवेदन नपरेको कयौं तथ्यांकहरु छन् । तर पछिल्लो समय भने जारी भएका म्युचुअल फण्ड सजिलै बिक्री हुँदै आएका छन् । बिक्री खुला भएको एक दुई दिन बित्न नपाउँदै संस्थाले माग गरेको भन्दा बढी आवेदन परिसकेको हुन्छ । र, तोकिएको छोटो मिति (अर्थात बिक्री खुला गरेको ४ कार्य दिन) मै उक्त फण्डको निष्काशन बन्द हुन्छ । सेयर बजार बढ्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू ‘एनएभी’) पनि बढ्छ । एनएभी बढेसँगै लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा बढेको हो । यसका साथै, विभिन्न म्युचुअल फण्ड अन्तर्गत सञ्चालित विभिन्न प्रकारका योजना तथा कोषले प्रतिफल घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सम्बन्धित फण्डको मूल्यमा पर्नेछ । उक्त घोषित नगद लाभांश तथा प्रतिफलमा लगानीकर्ताको आर्कषण बढेसँगै बजारमा तिनीहरुको भाउ पनि बढ्ने गरेको पाइन्छ । पछिल्लो समयको बजारमा त्यस्तै भएको छ । उदाहरणको लागि लक्ष्मी उन्नति कोषलाई हेरौं । जसले आज(साउन ५ गते) मंगलबार बिहान मात्रै गत आर्थिक वर्षको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गर्यो । यससँगै त्यसको सकारात्मक प्रभाव कोषको इकाई मूल्यमा परेको छ । अघिल्लो दिनको तुलनामा इकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई १४.२५ रुपैयाँ पुगेको छ । जुन १.३० रुपैयाँले बढी हो । कोषले आफ्ना इकाईधनीलाई अंकित मूल्यका आधारमा लाभांश वितरण गर्नेछ । जस्तै, कोषले २५ प्रतिशत लाभांश वितरण गर्दै छ भने उसले अंकित मूल्य १० रुपैयाँको २५ प्रतिशत अर्थात २.५ रुपैयाँ लाभांश वितरण गर्नेछ । यससँगै कोषको एक सय इकाई हुनेले कूल २५० रुपैयाँ पाउने छन् । तर लाभांशको लागि म्युचुअल फण्डमा लगानी गर्ने अधिकांशले आफुले लगानी गरेको पैसाबाट आफैले लाभांश खाएको पाइन्छ । कसरी ? कुनै योजनाले १० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको छ । हालै लाभांश घोषणा गरेको लक्ष्मी उन्नति कोषकै उदाहरण हेरौं । कोषले २५ प्रतिशत लाभांश घोषणा गरेको छ र आगामी साउन १३ गते बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोज अघि अर्थात साउन १२ गते कोषको कारोबार मूल्य १४.२५ रुपैयाँ कायम भयो । हाल कोषको न्याभ १४.७९ रुपैयाँ छ । २५ प्रतिशत लाभांश वितरणपछि कोषको न्याभ २.५ रुपैयाँले घटेर १२.२९ रुपैयाँ कायम हुन्छ । त्यसैले, २५ प्रतिशत लाभांशको लोभमा प्रतिइकाई १४.२५ रुपैयाँमा कोषको इकाई उठाउने लगानीकर्ताले आफुले तिरेको रकमबाट आफैले लाभांश खाएर १.९६ रुपैयाँ घाटा व्यहोर्नुपर्छ । जुन २.५ रुपैयाँ लाभांशको तुलनामा ५४ पैसाँ बढी हो । यो त रह्यो बजार मूल्यभन्दा बढी न्याभ रहेको योजनाको उदाहरण । अब बजार मूल्यभन्दा कम न्याभ भएको योजनाको उदाहरण हेरौं । जस्तै, लक्ष्मी इक्विटी फण्डको बजार मूल्य १६.०५ र न्याभ १५.६६ रुपैयाँ रहेको छ । फण्डले इकाईधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांशपछि फण्डको खुद सम्पत्ति घटेर १३.१६ रुपैयाँ कायम हुन्छ । यससँगै लाभांशको लोभमा परेर प्रतिइकाई १६.०५ रुपैयाँ हालेर फण्ड किन्नेलाई न्याभ १३.१६ मा झर्र्दा २.८९ रुपैयाँ घाटा हुन्छ । जुन फण्डले दिने २.५ रुपैयाँ लाभांशभन्दा पनि ०.३९ रुपैयाँ बढी घाटा हो । यससँगै उसले आफ्नो मूल्यबाट आफैले लाभांश खाएर पनि थप ०.३९ पैसा गुमाएको हुन्छ । तर, सबै योजनाको लाभांश घोषणापछि मूल्य समायोजन हुन्छ नै भन्ने हुँदैन । धितोपत्र नियमावली अनुसार घोषित लाभांश बुक क्लोजको मितिमा कायम कारोबार मूल्यको १० प्रतिशतभन्दा बढी भएमा मात्रै उक्त योजनाको मूल्य समायोजन हुनेछ । अन्यथा उक्त योजनाको मूल्य समायोजन हुँदैन । सेयर र म्युचुअल फण्डमा फरक सेयर र म्युचुअल फण्डमा लाभांशपछिको सम्पत्तिमा फरक हुन्छ । सेयरमा कम्पनीले छुट्याएको नाफाबाट लाभांश वितरण गर्छ र लाभांश वितरणपछि कम्पनीको पुँजी घट्दैन । तर, म्युचुअल फण्डमा भने लाभांश वितरणपछि न्याभ नै घट्छ । किनभने म्युचुअल फण्डले न्याभमा प्राप्त भएको र नभएको नाफा समेत गरी प्राप्त नाफाको वितरणयोग्य रकमबाट लाभांश वितरण गर्दा न्याभ घट्न पुग्छ । मंगलबारको बजारमा पनि अधिकांश म्युचुअल फण्डको मूल्य बढेको थियो । सो दिन बढी कमाउनेको सूचीमा प्राय सबै म्युचुअल फण्ड नै रहेका थिए । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्ड लगायत ग्लोबल आईएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्सड फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इक्विटी फण्ड गरी कूल ८ वटा म्युचुअलु फण्ड मंगलबार बढी कमाउनेको शीर्ष १०औं स्थानको सूचीमा रहेका छन् । योजनाहरुले धमाधम लाभांश घोषणा गर्ने सिजन लागेसँगै म्युचुअल फण्डको इकाईको मूल्य बढेको हो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल ३२ औं वर्षमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए । ३२ औं वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । यस्तै वार्षिकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने निर्णय गरेकाे छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा सस्थाको सम्बन्धनकाे विषयमा जोडदार आवाज उठाउँदै आईरहेको छ ।