सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो साढे २ अर्ब बढी बीमाशुल्क, यसरी साट्यो खुशीयाली (फोटोसहित)

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसपछि एक महिनामै कम्पनीले थप ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले साउन १ शुक्रबार (अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन) आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो । कम्पनीले गत असार ३० गते मात्रै आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पाउने छन् । सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, साढे २ अर्बको बीमा शुल्क आर्जन गर्न सफल कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको सभाले जानकारी गराएको छ । यसरी साट्यो खुशीयाली डेपुटी सीईओ एसके रावल र अध्यक्ष चंकी क्षेत्रीले एक अर्कालाई केक खुवाउन लाग्दै

एनएमबि क्यापिटलको कामु सीईओमा नेपाल नियुक्त

काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । यससँगै उनले आज (साउन १ गते) देखि नै लागू हुने गरी संस्थाको आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी संस्थाको नायव महाप्रबन्धक पनि हुन् । संस्थाका सीईओ श्रीजेश घिमिरेको कार्यकाल सकिएसँगै समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । सीईओ घिमिरेको कार्यकाल असार ३१ गतेदेखि सकिएको थियो । यससँगै नवनियुक्त कामू सीईओ नेपालले संस्थाले अर्को व्यवस्था नगरेसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

बीमा कम्पनीको सही विवरण दिने समितिको दावी, जोड्यो नयाँ सर्भर र सफ्टवेयर

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौं, उनले भने, यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ । फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको वचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग पटक पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताए । अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ, निर्देशक पौडेलले भने, बीमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई धेरै भन्दा धेरै चलायमान बनाउनेछौं । यो सूचना प्रविधिको जमाना भएकोले चाँडो भन्दा चाँडो जनतालाई सही जानकारी दिने उनको भनाइ छ । बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ । समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक,मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् । यसमा कानून, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ती शुद्धिकरण, बीमालेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् । त्यस्तै स्थलगत सुपरिवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, इजाजत, बीमा अभिकर्ता र सर्भेयर, व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विवरणहरु पनि अनलाइन माध्यमबाटै पेश गर्न सकिनेछ । त्यस्तै समितिको आन्तरिक तथ्यांक व्वस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्यांकहरु व्यवस्थापन गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको हो । यस सफ्टवेयर मार्फत समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्यांक एवं सूचनाहरु व्यवस्थापनमा सहज हुनेछ । यो समग्र बीमा क्षेत्रलाई नै प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले बीमा समितिमा नयाँ सफ्टवेयर इन्स्योरेन्स लेगुरटरी म्यानेजमेण्ट इन्फर्मेशन सिस्टम (आइआरएमआइएस) जडान गरिएको हो ।