इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा क्यासब्याक, हरेक महिना आइफोन १२ जित्ने माैका
काठमाडाैं । इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै यस याेजनाकाे बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएकाे छ । यस याेजनाकाे आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिने छ भने बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।
मकवानपुरमा एक वर्षमा थप ३३ हजारले गराए स्वास्थ्य बिमा
वाग्मती । मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७/०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ । साथै स्वास्थ्य बिमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९६६ व्यक्तिले बिमा नवीकरण गरेका छन् भने बिमा गर्ने ३३ हजार ९६६ नयाँ सदस्य थपिएका स्वास्थ्य बिमा बोर्ड मकवानपुरले जनाएको छ । कोरोना महामारीको कठिन परिस्थितिमा समेत ८७ प्रतिशतले गत आर्थिक वर्षमा बिमा नवीकरण गराएका छन् । सो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक रहेको छ । बिमा गर्नेमा ३९ हजार २५० ले पूर्ण शुल्कमा बिमा गरेका छन् भने छ हजार १३२ ज्येष्ठ नागरिकले निःशुल्करुपमा स्वास्थ्य बिमा गरेका सो बोर्डद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी ८७२ पूर्ण अपाङ्गता भएका रहेकाले निःशुल्क बिमा सेवा लिइरहेको बताइएको छ । त्यस्तै एचआइभी सङ्क्रमित भएका २३७ ले समेत निःशुल्क बिमा सेवा प्राप्त गरेका छन् भने क्षयरोग भएका एक जनालाई निःशुल्क सेवा दिइएको जनाइएको छ । महिला स्वास्थ्य स्वम्सेविकाका परिवारलाई ५० प्रतिशत छुट दिइ ५२४ को स्वास्थ्य बिमा गरिएको बताइएको छ । स्वास्थ्य बिमा गर्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै सङ्ख्या रहेको छ । वाग्मती गाउँपालिकाको सङ्ख्या सबैभन्दा कम रहेको सो बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी दिए । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न स्वास्थ्य बिमा ल्याएको र बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्वारा २०७२ चैत २५ गतेदेखि कैलालीबाट सर्वप्रथम सुरु गरिएको थियो । मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बिमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतको वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेको थियो ।
अभियान लघुवित्तको स्वतन्त्र सञ्चालकमा केशव थापा
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा केशव थापा नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाका अध्यक्ष बाबुराम थापाले शनिबार नै सपथ ग्रहण गराएका अभियान लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए । थापा नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास प्राप्त हुन् । काभ्रेको पनौति घर भएका थापाले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने उनी विभिन्न क्याम्पसहरुमा अध्यापन पेशामा कार्यरत छन् ।