डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, असोज १२ गतेदेखि बुक क्लोज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आगामी असोज २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे चितवनको भरतपुरस्थित रहेको चितवन गार्डेन रिर्सोटमा बस्न लागेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, बोनस सेयर जारी गर्दा दशमलब पछिको सेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने संस्थाले जनाएको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सभाले डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तबीच प्राप्ति कार्य अगाडि बढाउन नसकिने भएकोले सो को लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । सो सम्बन्धमा हालसम्म भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने संस्थाले जनाएको छ । साथै, सभाले सो कार्यको लागि नियमनकारी निकायहरुको निर्देशन बमोजिम काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । । साथै, साधारण सेयरधनीमध्येबाट ३ जना सञ्चालकलाई निर्वाचन गर्ने संस्थाको प्रस्ताव रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज हुने छ । यससँगै असोज ११ गतेसम्म कायम सेयरधनीले संस्थाकोे प्रस्तावित लाभांश पाउने छन् ।

वेस्टर्न युनियन क्यास उत्सव: दशैँ र तिहारमा दैनिक २० हजार जित्न सकिने

काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहरालाई लक्षित गरेर ‘क्यासउत्सव’ याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । यस याेजनामा सहभागी हुन ग्राहकले नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक याेजना अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ जसमा १ जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ जत्नेछ । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने कम्पनीले जानकारी दिएकाे छ ।

शिखरका पाण्डे र एनएलजीका पन्त प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित

काठमाडौं । सरकारले बीमा कम्पनीका दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सम्मानित गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसरमा शिखर इन्स्योरेन्सका सीईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तलाई सम्मान गर्ने घोषणा गरेको हो । सरकारले बीमा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई प्रबल जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने भएको हो । यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सीईओ पन्त र पाण्डेलाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नेछिन् । शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले हाल कम्पनीमा आफ्नो दोश्रो कार्यकाल सम्हालिरहेका छन् । भारतको सेन्ट जेभियर कलेजबाट बीबीएस र त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष बढी काम गरेका छन् । नेपाल बीमक संघको अध्यक्ष समेत रहेका पाण्डे अझै बीमा क्षेत्रमा धेरै योगदान गर्ने अठोटका साथ अगाडि बढेका छन् । त्यस्तै, एनएलजी इन्स्योरेन्सका सीईओ पन्त तीन दशकदेखि सो कम्पनीमा कार्यरत रहेका छन् । यससँगै उनले सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेको तीन वर्ष पुरा हुँदै छ । सरकारले असोज ३ गते मात्रै विभिन्न क्षेत्रका कूल ९०३ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । जसमध्ये बीमकको तर्फबाट दुई जना रहेका छन् । नेपालमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।