सेबोनका अध्यक्ष ढुंगानामाथिको छानविन सकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बझाएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रीपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो । जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखे । सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ नहुने उनले बताए ।
विन्धवासिनी सहकारीले रोशी गाउँपालिकाका कृषिकलाई सहुलियतमा ऋण दिने
काठमाडाैं । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था र काभ्रेको रोशी गाँउपालिकाबीच कृषी ऋण ब्याज अनुदान सम्बन्धी सम्झौता भएको छ । गाउँपालिका र सहकारीबीच ०७७/७८ मा गरिएको सम्झाैता अवधि गत असारमा समाप्त भएपछि पुनः सम्झौता भएकाे हाे । यस सम्झाैता पश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत व्याज अनुदान र विन्धवासिनी साकोसबाट १ प्रतिशत व्याज छुट गरी ६ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् । विन्धवासिनी बचत तथा ऋण सहकारी काठमाडौ र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र भई सदस्य, समुह र समुदायमा आधारित संस्था हाे ।
इसेवा चाडपर्व अफर सुरु, दिनदिनै उपहार पाइने
काठमाडौं । इसेवा मनि ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्नेछन् । विश्वभर रहेका २ सयभन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने ग्राहक यस योजनामा सहभागी हुन पाउनेछन् । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।