सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता

काठमाडाैं ।  सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । याेसँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ । बैंकले मुलुकभर रहेकाे ९६ शाखा कार्यालयहरु र ३१ एटिएममार्फत सुविधा दिँदै आएकाे छ ।

मञ्जुश्री फाईनान्सको ३ स्थानमा शाखा कार्यालय विस्तार

काठमाडौं । मञ्जुश्री फाईनान्सले ३ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । फाईनान्सले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्साबजारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो । फाईनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले उक्त ३ शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या १८ रहनेछ । २०७८ साल अषाढ मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको यस फाईनान्सले ८।९१ अर्ब निक्षेप संकलन गरी ७।९५ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।  

युराेपकाे टेर्रो पेमेन्ट सर्भिसबाट सिटी एक्सप्रेसमा पैसा पठाउन सकिने

काठमाडौं । युरोपको ख्यातिप्राप्त टेर्रो पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । याेसँगैं युरोपमा रहेका नेपालीहरुले ‘टेर्रो पे’ को सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट उक्त भुक्तानी सजिलै लिन सकिनुकाे साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेर्रो पे का तर्फबाट सह-संस्थापक अनि सेनले हस्ताक्षर गरेका छन् ।