आइएमई पे मार्फत भाटभटेनीमा भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडौं । ‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने भएकाे छ । कम्पनीले नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० रुपैयाँसम्मको) क्यासब्याकको अफर ल्याएकाे हाे । उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् । कम्पनीकाे अनुसार याे योजना एकपटक रहनेछ जसको अर्थ प्रति प्रयोग १ पटक क्यासब्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीहरुलाई निर्देशन दिदैँ पुनर्बीमा व्यवसाय नेपाली कम्पनीसँग मात्रै गर्न भनेको हो । समितिले मंसिर ९ गते जारी गरेको निर्देशनमा प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुसँग गर्नुपर्ने भनेको छ । समितिले यसअघि नै सबै बीमा कम्पनीहरुलाई कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीसँग गर्न निर्देशन दिएको थियो । समितिले बिहीबार दिएको निर्देशन अनुसार अब बाँकी हुने पुनर्बीमा व्यवसाय पनि स्वदेशी पुनर्बीमा कम्पनीलाई नै दिनुपर्ने भएको छ । हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्युरेन्स कम्पनी गरी २ वटा पुनर्बीमा कम्पनी छन् । समितिको निर्देशन पछि २० प्रतिशत पुनर्बीमा व्यवसाय अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने भएको छ भने बाँकी रहेको ८० प्रतिशत पुनर्बीमा व्यवसाय यी दुई पुनर्बीमा कम्पनीले पाउँनेछन् । यस्तैगरी, समितिले बीमा कम्पनीहरुलाई विदेशी कम्पनीसँग पुनर्बीमा गर्न करिब रोक लगाएको छ । समितिले स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका २०७८’ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने भनेको छ । तर, विदेशी पुनर्बीमा कम्पनीहरुलाई भुक्तानी गर्नको लागि समितिसँग पुनर्बीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने भनेको छ । यस्तो व्यवस्थाले कम्पनीहरुलाई स्वदेशी कम्पनीसँगै पुनर्बीमा गराउन बाध्य पार्नेछ ।

बिफिनले बैंक तथा वित्तीय संस्थाका व्यक्तिहरुसँग विशेष सम्मेलन गर्दै

काठमाडौं । बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर न्यू नर्मल’ विषयमा सम्मेलन गर्ने भएको छ । उक्त एकदिने सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्याक्तिहरु एवम् अन्य पेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहने बिफिनले जनाएको छ । यसका साथै सम्मेलनमा नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवम् विज्ञहरुकाे पनि उपस्थिती रहने बताइएको छ । सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने र त्यहाँ भारतीय रिर्जभ बैंकका पूर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको उपस्थिति रहने बताइएको छ । आयोजककाे अनुसार सम्मेलनले सबै तह र क्षेत्रका संस्थाहरुलाई विद्युतीय कारोबारको लागि तयारी अवस्थामा लैजान प्रयत्न गर्नेछ । यस्तै, सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोभिड-१९ ले पारेको असरका साथै रणनीति तथा सुशासन र महामारीको कारणले सांस्कृतिक क्षेत्रमा आएको परिवर्तनका कारण बैंकिङ क्षेत्रले लिनुपर्ने शिक्षाबारे खोजी गरिने बताइएको छ ।