काठमाडौं । बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर न्यू नर्मल’ विषयमा सम्मेलन गर्ने भएको छ ।
उक्त एकदिने सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्याक्तिहरु एवम् अन्य पेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहने बिफिनले जनाएको छ ।
यसका साथै सम्मेलनमा नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवम् विज्ञहरुकाे पनि उपस्थिती रहने बताइएको छ ।
सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने र त्यहाँ भारतीय रिर्जभ बैंकका पूर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको उपस्थिति रहने बताइएको छ ।
आयोजककाे अनुसार सम्मेलनले सबै तह र क्षेत्रका संस्थाहरुलाई विद्युतीय कारोबारको लागि तयारी अवस्थामा लैजान प्रयत्न गर्नेछ ।
यस्तै, सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोभिड-१९ ले पारेको असरका साथै रणनीति तथा सुशासन र महामारीको कारणले सांस्कृतिक क्षेत्रमा आएको परिवर्तनका कारण बैंकिङ क्षेत्रले लिनुपर्ने शिक्षाबारे खोजी गरिने बताइएको छ ।