प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नतको मूल्य समायोजन

काठमाडौं । प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नत स्किम १ को सेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको क्रमशः बोनस र नगद लाभांश पश्चात दोश्रो बजारमा सेयर मूल्य समायोजन भएको हो । जसमध्ये प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४३ रुपैयाँमा भएको थियो । त्यस्तै, ग्लोबल आईएमई समुन्नतको १०० प्रतिशत नगद लाभांशपश्चात इकाई मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको इकाई मूल्य १०.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिइकाई २०.८८ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।

गरिमा विकास बैंकको ऋणपत्रः हालसम्म कतिले दिए आवेदन ?

काठमाडौं । गरिमा विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा हालसम्म ७३ करोड २४ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । मंसिर १७ गतेदेखि निष्काशित भएको उक्त ऋणपत्रमा मंसिर २१ गते मंगलबारसम्ममा सो मात्राको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले जनाएको हो । सीडीएससीका अनुसार मंगलबार दिउँसो ४ बजेसम्ममा १३ लाख ९२४ हजार जना आवेदकले ७ लाख ३२ हजार ४७३ थान ऋणपत्रको लागि आवेदन दिएका हुन् । जुन बैंकले माग गरेको तुलनामा ७३.२४ प्रतिशत हो । बैंकले गत मंसिर १७ गतेदेखि ‘गरिमा डिबेञ्चर २०८५’ नामक १० लाख कित्ता ऋणपत्र जारी गरिरहेको छ । जसमध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने र ४ लाख कित्ता सर्वसाधारणलाई सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त ऋणपत्रको अवधि ७ वर्षको रहेको छ । जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हाे । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढकाराम तिवारीले हस्ताक्षर गरेका छन् । बैंककाे अनुसार यस परियोजनाबाट ६ वर्ष अवधिभित्र १ लाख २५ लाख कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ । कृषि मुल्य श्रृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहुलियतपुर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासँग सहकार्य गर्दै कृषकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ । ३० वर्ष अवधिको लागि कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)को सहयोगमा नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकलाई प्राप्त यस ऋण रकम बैंकले नेपाल सरकारबाट ५ प्रतिशत व्याजदरमा पाप्त गर्ने छ । कृषि विकास बैंकले निकै लामो अन्तरालपछि यस किसिमको सहुलियत ऋण सहयोग प्राप्त गर्न सफल भएको हो । बैंकिंङ बजारमा देखिएको तरलता अभावलाई कम गर्न नेपाल सरकारको यस किसिमको कार्यक्रमले टेवा पुग्ने बैंकले जनाएको छ ।