३९ बीमा कम्पनीले उठाए ७३ अर्ब बढी प्रिमियम, कसको कति ? (सूचीसहित)
काठमाडौं । हाल बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । २०७७ मंसिरको तुलनामा बीमा कम्पनीहरुले २०७८ मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८.८७ प्रतिशत अर्थात ११ अर्ब ६२ करोड रुपैयाँले बढाउन सफल भएका हुन् । बीमा समितिका अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका ३९ कम्पनीले २०७८ मंसिर महिनासम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्ष अघि अर्थात २०७७ मंसिर महिनासम्ममा ६१ अर्ब ६० करोड रुपैयाँ थियो । जसमध्ये जीवन बीमा व्यवसाय गर्दै आएका १९ कम्पनीले चालु आर्थिक वर्षको ५ महिनासम्ममा ५७ अर्ब ७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका २० कम्पनीले १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गर्नेमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । र, महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यता निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले चालु आवको ५ महिनामा एक अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, साढे १ अर्ब भन्दा कम र एक अर्ब भन्दा बढी प्रिमियम उठाउन ४ कम्पनी सफल भएका छन् । सगरमाथाले एक अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले एक अर्ब ३० करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ११ करोड र एनएलजी इन्स्योरेन्सले एक अर्ब रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् । सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउनदेखि मंसिर महिनासम्ममा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको समितिले जनाएको छ ।
नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सबीच सहकार्य सुरु
काठमाडाैं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ (सिएक्सओ) र सिमन श्रेष्ठ (बिजनेश डेभलपमेन्ट मेनेजर) तथा समृद्धि फाइनान्सको तर्फबाट टिका निधी लोहनी (प्रमुख कार्यकारी अधिकृत) र बिनोद राज पौडेल (प्रमुख प्रबन्धक)ले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब समृद्धि फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन् । नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।
नेशनल माइक्रोफाइनान्सद्वारा सदस्यकाे ऋण मिनाह गरी बीमा रकम प्रदान
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले एक सदस्यको ऋण मिनाह गर्दै थप कर्जा बीमा अन्तर्गत ४२ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान छ । लघुवित्तको कन्चनपुर जिल्लाको वेलौरी नगरपालिका वडा नं.४ मा रहेको शाखाले मृतकका परिवारलाई कर्जा मिनाह गरी बीमा मार्फत प्राप्त हुने रकम र काजकिरिया खर्च रकम प्रदान गरेको हो । कल्पना कुमारी बुढा गत असोज २२ गते काल गतिले निधन भएको थियो । मृतकका श्रीमान जनक बहादुर खडकालाई ८८ हजार साँवा व्याज मिनाह गरी कर्जा वीमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजकिरिया खर्च स्वरुप ४२ हजार रुपैयाँ उपलब्ध गराएको हो । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले देशभर आफना १०५ शाखा संजाल मार्फत करिव १ लाख ४० हजार भन्दा वढि घर परिवारलाइ वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।