स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै संस्थाको १० लाख २८ हजार १९८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा हुनेछिन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ललितपुरको सुनाकोठी निवासी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको थियो ।
ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का
काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी हुन् । उक्त समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक खड्काले अब बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि बैंकको अध्यक्षमा हरि प्रसाद थिए । उनको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा खड्कालाई चयन गरिएको हो ।