काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध रुपमा विदेशी मुद्दा कारोबार गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले क्रिप्टोकरेन्सीको मोबाइल एप्स इ-स्क्रिल र बियान्कामार्फत अवैध कारोबार गर्ने कैलालीको लम्कीचुहा नगरपालिका-१० घर भई काठमाडौंको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी साथी अनिता धितालविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले एक महिना अघि विदेशी विनिमय ऐन २०१९ सम्बन्धी कसुरमा उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धानमार्फत उनीहरुले इ-स्क्रिल र बियान्कामार्फत कुल ३७ करोड ७४ लाख ११ हजार १६६ रुपैयाँ कारोबार गरेको पाइएको छ ।
दिनेशकाे ग्लोबल बैंकको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिताको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ, भगवतीको एनआइसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र नरबहादुरको ग्लोबल आइएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँको कारोबार गरेको पाइएकाे हाे ।
विभागले उनीहरुको बिगो जफत गरी तीन वर्षसम्मको कैद सजायको मागदाबी लिएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’ अवैध रहेको जनाउँदै यसको कारोबार गर्नेलाई कारबाहीको चेतावनी दिँदै आइरहेको छ ।