बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०५७.६० रुपैयाँलाई आधार मानेर शुरु हुने छ । यसअघि अर्थात माघ ११ गते इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १३२२ रुपैयाँमा भएको थियो ।

बहराइनको एनइसी मनी एक्सचेन्ज र जिमएइ रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । बहराइनस्थित मनी एक्स्चेन्ज कम्पनी एनइसी मनी एक्सचेन्ज र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ । याेसँगैं एनइसी मनी एक्सचेन्जका बहराइनस्थित २१ वटा शाखाबाट सजिलैसँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र एनइसी मनी एक्स्चेन्जको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फुवाद दाउद नोनो ले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत नेपालमा जिएमइ रेमिटसँग आवद्ध १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी रियल टाइम डिपोजिट गर्न सकिने र यसका साथै आइएमइ पे वालेट मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।  

सुर्खेतमा शिवशिखर बहुउद्देश्यीय सहकारीको एटिएम सेवा सञ्चालन

काठमाडाैं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० मा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमकावीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटिएम सेवा सञ्चालनको शुभारम्भ गरे । एटिएम सेवा शुभारम्भ गर्दै नगरप्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताए । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफना सेवा केन्द्र विस्तार गरिसकेको छ । सहकारीले मोवाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजारभन्दा बढि प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ । यो महिनाभित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याइने संस्थाले जनाएकाे छ ।