सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित, एकीकृत कारोबारलाई खुल्यो बाटो
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सानिमा जनरल इन्स्योरेन्सको मंगलबार बसेको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै अब दुई कम्पनीलाई एकीकृत कारोबार गर्नको लागि बाटो खुला भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न सभाले मर्जरको प्रस्तावसहित कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, आजै सम्पन्न जनरल इन्स्योरेन्स कम्पनी नेपालको विशेष साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको छ । उक्त सभाले कम्पनीको सभाले मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावलाई समेत पारित गरेको छ ।
सूर्या लाईफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले गत मुनाफा हाल जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।
सेयर मूल्यमा १३ बीमा कम्पनी : राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो, सस्तो कुन ?
काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो । हाल बजारमा जीवन र निर्जीवन गरी कूल १३ कम्पनीको सेयर कारोबार भइरहेको छ । जसमध्ये निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १२ हजारभन्दा बढी छ । जुन अन्य कम्पनीको तुलनामा धेरै गुणा बढी हो । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २० हजार ४९९ रुपैयाँ र न्यूनतम १२ हजार २५५ रुपैयाँसम्ममा किनबेच भएको थियो । त्यसैगरी, सबैभन्दा बढी मूल्य हुने कम्पनीको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । जीवन बीमा व्यवसाय गर्दै आएको यो कम्पनीको सेयर हाल प्रतिकित्ता १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २ हजार ४९२ रुपैयाँ र न्यूनतम १ हजार ६५ रुपैयाँको बीचमा किनबेच भएको थियो । शिखर इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७१० रुपैयाँ छ । दोश्रो बजारमा २ हजार १५७ रुपैयाँसम्म किनबेच भएको कम्पनीको सेयर प्रतिकित्ता ६९० रुपैयाँसम्म झरेको थियो । त्यसैगरी, नेको इन्स्योरेन्सको सेयर ६७१ रुपैयाँमा किनबेच भइरहेको छ । प्रतिकित्ता ६०१ रुपैयाँसम्म झरेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँसम्म पुगेको थियो । दोश्रो बजारमा दुई जीवन बीमा कम्पनीको सेयर ५ सयदेखि ६ सय रुपैयाँको हाराहारीमा छ । आइतबार नेपाल लाइफको अन्तिम कारोबार प्रतिकित्ता ५७९ रुपैयाँ र नेशनल लाइफको प्रतिकित्ता ५३५ रुपैयाँमा भएको थियो । लगानीकर्ताले नेपाल लाइफको सेयर अधिकतम १८१० रुपैयाँ र नेशनल लाइफको अधिकतम ११७९ रुपैयाँसम्म कारोबार भएको थियो । त्यस्तै, पछिल्लो एक वर्षको अवधिमा यी दुईको सेयर क्रमशः ५७७ र ४९९ रुपैयासम्म झरेको थियो । यता ७ वटा कम्पनीको सेयर ५ सय रुपैयाँभन्दा कम मूल्यमा किनबेच भइरहेको छ । जसमा एनएलजी, एशियन लाइफ, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । एनएलजीको पछिल्लो कारोबार प्रतिकित्ता ४५१ रुपैयाँमा भएको छ । एक वर्षको अवधिमा अधिकतम १०१२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य भने घटेर ४२३ रुपैयाँसम्म झरेको थियो । दोश्रो बजारमा एशियन लाइफको सेयर प्रतिकित्ता ४३२.५० रुपैयाँमा पाइन्छ । पछिल्लो एक वर्षमा कम्पनीको सेयर अधिकतम १ हजार ३९८ रुपैयाँसम्म पुगेको थियो । र, सोही अवधिमा घटेर प्रतिकित्ता ४३० रुपैयाँसम्म झरेको थियो । यता नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर ४ सय रुपैयाँ भन्दा पनि सस्तोमा पाइन्छ । नेपाल इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार प्रतिकित्ता ३९८.४० रुपैयाँमा भएको थियो । जसको भाउ अधिकतम ९३७.३० र न्यूनतम ३९५ रुपैयाँसम्ममा झरेको थियो । त्यसैगरी, मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर प्रतिकित्ता ३६१.७० रुपैयाँ छ । हालसम्म कम्पनीको सेयर अधिकतम ८१०.९० र न्यूनतम ३५३.२० रुपैयाँको बीचमा कारोबार भइरहेको छ । पछिल्लो एक वर्षमा एक हजारमाथि पुगेको आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ३४७ रुपैयाँमा झरेको छ । यद्पि, उक्त मूल्य न्यूनतम मूल्य भने होइन । कम्पनीको सेयर न्यूनतम प्रतिकित्ता ३३३.२० रुपैयाँसम्म झरेको थियो । हाल दोश्रो बजारमा कारोबार भइरहेका बीमा कम्पनीमध्ये प्रुडेन्सियलको सेयर भाउ सबैभन्दा सस्तो छ । कम्पनीको सेयर प्रतिकित्ता ३३५.२० रुपैयाँमा कारोबार भइरहेको छ । हालसम्म कम्पनीको सेयरको लागि लगानीकर्ताले न्यूनतम ३२८ रुपैयाँदेखि अधिकतम ८१२ रुपैयाँसम्म लगानी गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्दै आएको यूनाइटेड इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३३६.२० रुपैयाँमा पाइन्छ । यसअघि कम्पनीको सेयर न्यूनतम ३२५ रुपैयाँदेखि अधिकतम ७८८ रुपैयाँसम्म किनबेच भएको थियो । नेपाली बजारमा जीवन र निर्जीवन गरी ३८ वटा कम्पनीले व्यवसाय गर्दै आएका छन् । जसमध्ये हाल १३ वटा कम्पनी मात्रै दोश्रो बजारमा कारोबार भइरहेका छन् । केही कम्पनी सूचीकृत नै भएका छैनन् भने सूचीकृत भएका केही कम्पनीको भने हाल कारोबार रोक्का छ । बजार ८ वटा जीवन र ८ वटा निर्जीवन गरी कूल १६ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । निर्जीवन तर्फका प्रिमियर, प्रभु, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, अजोड, जनरल र सानिमा जनरल छन् । र, जीवन बीमा तर्फका प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, यूनियन लाइफ र सानिमा लाइफको सेयर कारोबार रोक्का भइरहेको छ । यी कम्पनी मर्जरमा जाने तयारीमा रहेका छन् । दोश्रो बजारमा सूचीकृत नहुनेमा ७ वटा जीवन बीमा कम्पनी रहेका छन् । जसमा राष्ट्रिय बीमा संस्थान, सिटिजन्स लाइफ, आईएमई लाइफ, प्रभु लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ र मेट लाइफ रहेका छन् ।