सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ: अर्थमन्त्री शर्मा

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने, ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१।२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९।१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’ उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । ‘अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ’, मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’ अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’ रासस

इसेवा मनी टान्सफरमार्फत नेपालमा पैसा पठाउने १ जनाले काठमाडौंमा घर जित्ने

काठमाडाैं । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ । कम्पनीले शुक्रबार उक्त अभियान सार्वजनिक गरेकाे हाे । यो अभियान असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म जारि रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले बताएकाे छ । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जनै पनि मलकमा रहन भएका नेपालीहरुले, नेपालमा इच्छाएका व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ ।  

भाटभटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्न सकिने

काठमाडाैं । भाटभटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । नेपालपे क्युआरलाई ग्राहकले ‘नेपालपे’को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपालपे चल्ने यकिन गर्न उक्त एपको क्युआर स्कयान स्क्रिनमाको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।