बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरी बैकिङ कारोबार शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । फाइनान्सले छिट्टै सुर्खेत र धनगढीमा समेत शाखा संजाल विस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिती जनाउने बताएको छ ।

ठमेल रेमिट एनपीएस प्रणालीमा : अब अमेरिकाबाट पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा पाइने

काठमाडाैं । ठमेल रेमिट नेपाल क्लियरिङ् हाउस (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ । याेसँगै अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिकाबाट पठाएको पैसा अब केहि सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ । ठमेल रेमिटका सह-संस्थापक बालके जोशीले यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैरकार्डमा आधारित, बैंक-टू-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बन्ने बताए । ‘यस प्रकारको रियल टाईम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन्। अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौं भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने । संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडीएको भएको यो पहिलो पटक भएकाे उनले बताए । अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछ । यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल, आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना ग्राहकका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ ।  

इसेवाको सीइओमा जगदिश खड्का नियुक्त

काठमाडौं । इसेवाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाएका छन् । सीइओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आवद्ध थिए । इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त सीइओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ, डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छु, मैले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ।’ इसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रेहका सुभास सापकोटालाई सीइओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन् । सीइओबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।