कनेक्ट आइपिएसकाे विन्टर अफर : १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा नि:शुल्क पाइने
काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ‘ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम १५ हजारसम्म) समेत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस मोबाइल एप डाउनलोड गरी वा वेबसाइटमा गई नयाँ युजर बनाउन सक्नेछन् । यसपछि ग्राहकले एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्नेछ ।
नाफामा १७ इन्स्योरेन्स : ‘नम्बर वान’ बनेको ज्योतिलाई पछ्याउँदै सूर्या, नेपाल लाइफले मार्यो छलाङ
काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका १७ कम्पनीले कूल १ करोड ६४ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थान र सानिमा लाइफ इन्स्योरेन्स बाहेक १७ कम्पनीले तीन महिनामै सो मात्राको नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको तुलनामा ६०.८७ प्रतिशतले बढी हो । यी १७ कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ करोड २ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका थिए । १७ कम्पनीमध्ये अधिकांश कम्पनीको नाफा बढेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, प्राइम लाइफ र युनियन लाइफबाहेक अन्य कम्पनीको नाफा गत आवको तुलनामा बढेको हो । नाफा बढाउनेमध्ये ज्योति लाइफ इन्स्योरेन्सले सर्वाधिक नाफा कमाएको छ । कम्पनीले गत साउनदेखि असोजसम्ममा २१ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १३३.४१ प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड २२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । त्यस्तै, नाफामा ज्योति लाइफलाई टक्कर दिँदै सूर्या लाइफ इन्स्योरेन्स अगाडि बढेको छ । समीक्षा अवधिमा कम्पनीले २० करोड ७३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८२.६४ प्रतिशतले बढी हो । यता प्रतिशतको आधारमा नेपाल लाइफले नाफामा छलाङ मारेको छ । कम्पनीले एक वर्षको अवधिमा २४१० प्रतिशतले नाफा वृद्धि गरी १७ करोड ५७ लाख पुर्याएको छ । जुन गत आवमा ७० लाख रुपैयाँ थियो । त्यस्तै, १० करोडभन्दा बढी नाफा कमाउनेको सूचीमा यी तीन कम्पनीसहित अन्य ५ कम्पनी रहेका छन् । जसमा सन नेपाल लाइफ, रिलायन्स लाइफ, नेशनल लाइफ, एशियन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । यी सबैले गत आवको तुलनामा यो वर्ष दोहोरो डिजिटमा नाफा कमाएका छन् । यता अन्य ८ कम्पनी जसले १० करोड रुपैयाँभन्दा कम नाफा आर्जन गरेका छन् । जसमा मेट लाइफ, सिटिजन, आईएमई, गुराँस, प्रभु, महालक्ष्मी र युनियन लाइफ रहेका छन् । यीमध्ये प्राइम लाइफको नाफा ५७.१४ प्रतिशतले र युनियन लाइफको नाफा १९.१९ प्रतिशतले घटेको छ । १७ कम्पनीमध्ये एक कम्पनी अर्थात लाइफ इन्स्योरेन्स कर्पोरेसन भने नोक्सानमा रहेको छ । गत वर्ष असोजसम्ममा ३ करोड १९ लाख रुपैयाँ नाफामा रहेको कम्पनीले चालु आवमा ५९ लाख रुपैयाँ नोक्सानमा छ । जुन गत आवको तुलनामा ११८.५० प्रतिशतले घटी हो । कुनले कति कमाए ?
प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत वर्षको लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो । जुन नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ । प्रस्तावित ५ प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट पनि सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीले सेयरधनीले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर उक्त आवमा बोनसमा जोड दिएको कम्पनीले यो वर्षभने नगद लाभांश बढी जोड दिएको छ ।