आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बोनस र ५८ लाख २१ हजार ४३९ रुपैयाँ नगद गरी कूल ११ करोड ६४ लाख २८ हजार ७८१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
बैंकर्सको मतदान : राष्ट्रिय पर्वको रुपमा लिएको प्रतिक्रिया, कसले कुन ठाउँबाट खसाले भोट ?
काठमाडौं । आज (आइतबार) भएका प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा बैंकर्सले सक्रिय रुपमा सहभागिता जनाएका छन् । विभिन्न बैंक तथा वित्तिीय क्षेत्रमा काम गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा पूर्व सीईओहरुले चुनावमा सक्रिय रुपमा सहभागिता जनाएर मतदान गरेका छन् । आगामी ५ वर्षका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य छनोटमा आफ्नो अमूल्य मतदान गरेको बैंकरहरुले बताएका छन् । देशको शुसासन र विकासका लागि मतदान गरेको बैंकरहरुको धारणा दिएका छन् । यसपटकको निर्वाचनमा अघिल्लो पटकको निर्वाचनमा भन्दा मत खसाल्न सहज भएको उनीहरुको धारणा छ । बैंकर तथा नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहले काठमाडौंबाट मतदान गरेका छन् । शाहले काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको हिटी दरबार क्षेत्रबाट मतदान गरेका हुन् । उनले मतदान गर्दै भनेका छन्, ‘मैले भोट गरेँ, के तपाईंले गर्नुभयो ? तपाइँको भोट तपाइँको अधिकार मात्र होइन यो तपाइँको जिम्मेवारी पनि हो ।’ यस्तै, सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले पनि आफूले मतदान गरेको बताएका छन् । उनले ललितपुरको भैँसेपाटीमा रहेको जनोदय विद्यालयबाट मतदान गरेका हुन् । उनको क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की लगायतले उम्मेदवारी दिएकी छन् । विकासन्युसँग प्रतिक्रिया दिदै सीईओ पोखरेललेआफुले मतदानलाई एक किसिमको राष्ट्रिय पर्वका रुपमा लिएको बताउँलै सक्रिय सहभागी भएको बताए । ‘मतदान एक राष्ट्रिय पर्व हो, सबैले मतदान गर्नु पर्छ, उनले भने,‘ हामीले दिएका एक मत र सक्षम युवाले यो मुलुकको भविश्य कोर्ने हो ।’ यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ पृथ्वीबहादुर पाण्डेले पनि काठमाडौंबाट मतदान गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले पनि मतदान गरेका छन् । उनले ललितपुरको धोबीघाटबाट आफूले निर्वाचनमा मतदान गरेका बताए । उनले देश विकास गर्ने ब्यक्तिलाई मतदान गरेको प्रतिक्रिया दिए । निर्वाचित भइसकेपछि आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न सक्ने क्षमता भएको ब्यक्तिलाई आफूले भोट दिएको उनको धारणा छ । यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि मतदान गरेको बताएका छन् । उनले काठमाडौंको ८ नम्बर निर्वाचन क्षेत्रको अरुणदोय माबीबाट मतदान गरेको बताए । उनले आफुले मतदान गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गराउँदै लेखेका छन्, ‘निर्वाचन आयोग भन्छ कुनैपनि परिचय खुल्ने कागज लिएर भोट हाल्न जानु तर निर्वाचन अधिकृतले भने प्यान कार्ड लाई मान्यता नदिएर झण्डै भोट हाल्न पाइएन, धन्न भोट त हालियो, त्यो पनि १२ किलो मीटर हिँडेर, आशा गरौं जनता को अभिमत को इज्जत राखिने छ, हाम्रो भोटको अपमान गरिने छैन, निर्वाचनमा खटिएका सबै कर्मचारीहरुलाई चुस्त व्यवस्थापनका लागी धन्यवाद ।’
कोरोना बीमाको बाँकी रहेको रकम भुक्तानी गर्न सुरु, सरकारविरुद्ध कानूनी उपचार खोज्ने
काठमाडौं । नेपाल बीमक संघले बीमा कम्पनीहरुलाई कोरोना बीमा वापतको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको बैठकले कोरोना बीमा वापत परेको दावी भूक्तानी गर्ने निर्णय गरेको हो । दावी भूक्तानी गर्दा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्ने, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधारमानि समानूपातिक रुपमा बाँडफाँट गर्ने, समानूपातिक रुपमा बाँडफाँट गर्दा व्यक्ति तथा परिवारलाई तिर्नु पर्ने दावी संख्या भन्दा बढि रकम नदिने, बाँडफाँट भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पूनःस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँट गर्ने र दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ–आफ्नो वेव साइटमा प्रकाशित गर्ने निर्णय बीमक संघको बैठकले निर्णय गरेको छ । कोरोना बीमा दावी भूक्तानी, जोखिम समूहको पूनर्बीमा सम्झौता लगायत बीमक संघले गरेको निर्णयलाई कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई संघले आग्रह गरेको हो । भूक्तानी गरिएको दाबीकर्ताहरुको सूचीकको एक प्रति बीमक संघ र पुललाई उपलब्ध गराएको रकमको चेक बीमक संघबाट लिइ दाबी प्रकृयालाई सहज गर्न संघको भनाइ छ । गत कात्तिक १५ गते अर्थ मन्त्रालयले ५५ प्रतिशत रकम मात्र तिर्ने बताएको थियो । सोहि पत्रलाई आधार मानेर बीमा प्राधिकरणले कात्तिक १७ गते बीमा कम्पनीहरुलाई रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । माहामारीको बीमा तथा पुनर्बीमा नहुने भनेर बीमा कम्पनीहरुले आग्रह गर्दा पनि सरकार र बीमा समितिले ३.५ अर्ब रुपैयाँ माथिको दायित्व सरकारले स्वीकार गर्ने भनेको थियो । सरकारले बीमा कम्पनीहरुलाई बीमालेख जारी गर्न बाध्यकारी प्रावधान बनाएर बीमा मापदण्ड २०७७ लागु गरेको थियो । अहिले सरकारले आफैँले बनाएको कोरोना बीमा निर्देशिकाको उलंघन गर्दै दायित्व स्वीकार नगरी बीमा कम्पनीहरुलाई थप दायित्व श्रृजना गर्दै पत्र पठाएकोमा बीमक संघले गुनासो गरेको छ । ‘सरकारले कोरोना बीमा मापदण्ड २०७७ बमोजिम बीमा दाबी गर्नु पर्नेमा गर्नुपर्नेमा उक्त निर्देशिका बमोजिम हालसम्म उक्त रकम नआएको तर अर्थ मन्त्रालयको पत्र गत कात्तिक १५ गतेको पत्र अनुसार ५५ प्रतिशत रकम मात्र तिर्ने गरी पठाएको पत्रलाई आधार मानेर बीमा प्राधिकरणले कात्तिक १७ गते बीमा कम्पनीहरुलाई निर्देशन आएको छ,’ बीमक संघले भन्यो, ‘माहामारीको बीमा तथा पुनर्बीमा नहुने भनि बीमकहरुले बीमा नगर्ने अनुरोध तथा लिखित निवेदन गर्दा पनि सरकार र बीमा समितिले ३.५ अर्ब रुपैयाँ माथिको दायित्व सरकारले स्वीकार गर्ने भनेको थियो, सरकारले बीमा कम्पनीहरुलाई बीमालेख जारी गर्न वाध्यकारी प्रावधान बनाएर बीमा मापदण्ड २०७७ लागु गरेको थियो ।’ नियामकले जारी गरेका प्रावधान र निर्देशिका बीमकहरुको लागि कानून सरह हुने भएकोले कानूनको पालनाको लागि बीमा कम्पनीहरु बीमालेख जारी गर्न बाध्य भएको बीमक संघले भनेको छ । तर, अहिले सरकारले आफैँले बनाएको कोरोना बीमा निर्देशिकाको उल्लंघन गर्दै दायित्व स्वीकार नगरी बीमा कम्पनीहरुलाई थप दायित्व श्रृजना गरेको आरोप बीमक संघले बताएको छ । ‘सरकार विरुद्धको उक्त गैरकानूनी कार्यलाई पछि कानूनी रुपमा छलफल गर्ने तर दावीकर्ताहरुको पिडालाई मध्यनजर गरी हाललाई जे जति रकम प्राप्त भएको छ सोही रकमलाई भुक्तानी गरिनेछ, बीमकहरुले संचालक समितिबाट स्विकृती लिनुपर्ने भए स्वीकृत लिन पनि भुक्तानी गर्न आग्रह छ,’ बीमक संघको धारणा छ ।