शिक्षक आन्दोलनले एसईईको नतिजा ढिलो हुने, उत्तरपुस्तिका परीक्षण रोकियो

काठमाडौं । शिक्षकको जारी आन्दोलनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नेपाल शिक्षक महासंघको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षणमा शिक्षक सहभागी नहुनाले नतिजा समयमा आउन नसक्ने भएको हो । नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएको एसईईको उत्तरपुस्तिका परीक्षण यही साता शुरू हुने तयारी थियो । तर शिक्षकहरूले माग पुरा नभएसम्म परीक्षण नगर्ने अडान लिएपछि परीक्षा नियन्त्रक कार्यालयले निर्धारित तालिका अनुसार नतिजा प्रकाशन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने, 'उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइरहेकै हो, तर परीक्षण प्रक्रियामा अवरोध हुँदा असार ७ गते नतिजा प्रकाशित गर्ने योजना प्रभावित हुने देखिन्छ ।' नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गर्दै आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ मा प्रवेश गराएको छ । महासंघले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण, तालिम, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि कार्यमा संलग्न नहुन निर्देशन दिएको छ । 'गुणस्तरीय र विद्यार्थी–शिक्षकमैत्री विद्यालय शिक्षा ऐन ल्याउने हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ । सम्पूर्ण विद्यालय बन्द गर्दै काठमाडौंको आन्दोलनमा अनिवार्य सहभागी हुन शिक्षक–कर्मचारीलाई आग्रह गरिन्छ, ' महासंघको विज्ञप्तिमा उल्लेख छ । चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको परिणाम ढिलाइ हुनाले शैक्षिक सत्रको सुरूवात, विद्यार्थी भर्ना र अगामी तयारीहरूमा समेत असर पर्ने देखिएको छ । यसैबीच, आन्दोलनका कारण कतिपय विद्यालयमा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन पनि प्रभावित भएको छ ।

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं । केही दिनयतादेखि काठमाडौंमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि  काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, 'बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ । सोही कारणले साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।' विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।