सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ शिक्षकहरूको दिनचर्या
काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । प्रत्येक दिन बिहान ११ बजे माइतीघर-बबरमहलमा भेला भई जिल्ला गत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ । आन्दोलनमा सहभागिताको लेखा जोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिर गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौं उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ । अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा/आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बजाउने जस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन् । साथै, स्थानीय कलासंस्कृति, भेषभूषा अनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आन्दोलन सुरु गरेको दसौँ दिन भयो । महासङ्घले सरकारले खास कुरा सुनेको छैन भन्ने लागे पनि नआत्तिईकन आन्दोलनलाई उचाइमा पुर्याउन साथ, सहयोग र समर्थनका लागि आह्वान गरिरहेको छ । आज दशौँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, ‘दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र १ भन्ने लाग्न सक्छ, नआत्तिनुस् उपलब्धि हुने क्रममा छ । हामीले यहाँ आए र कराएको सरकारले हेरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्, तपाईंहरूको मेहनत निरर्थक हुँदैन । आन्दोलन लम्बिन सक्छ तर थाक्ने र भाग्ने नगर्नुस् ।’ धनुषाका शिक्षक सञ्जीवकुमार यादवले पेसा गत हकहितका लागि बाध्यताले आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीहरूको एउटै माग मुद्दा भनेको सरकार र शिक्षक सङ्गठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो ।’ आन्दोलनमा सहभागी काभ्रेका शिक्षक कृष्णप्रसाद उप्रेतीले नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको प्रतिक्रिया दिए। ‘आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ,’ उनले भने । शिक्षक महासङ्घ खोलुखुम्बुका अध्यक्ष डण्डी कुमार खतिवडाले सरकारसँग विसं २०८० असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाए । ‘अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आएकाले यस पटक उधारो नभई परिणाम हात पारेर मात्र फर्कने प्रण गरेका छौँ,’ उनले भने । शान्तिपूर्ण भनिए पनि काठमाडौंको मूल सडकमै आन्दोलन गरिएकाले राजधानीको यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा भने दिनहुँ समस्या भइरहेको छ । साथै, सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ । आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् ।
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध
काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराएका हुन् । ‘सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी ८ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगर प्रमुखसँग समेत यस विषयमा कुरा भएको छ,’ श्रेष्ठले भने । नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताए । नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको कांग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उपकुलपति नहुँदा त्रिविको प्रशासनिक काममा अन्योल
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएसँगै त्रिवि उपकुलपतिविहीन भएको छ । जसका कारण विश्वविद्यालयका प्राज्ञिक, प्रशासनिक तथा कार्यकारी कामकारवाही प्रभावित भएका छन् । बरालले १५ चैतमा स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएका थिए, जुन बिहीबार स्वीकृत भएको हो । उपकुलपति नभएपछि परीक्षाका प्रमाणपत्रमा हस्ताक्षर लगायतका कार्यहरू रोकिएका छन् । जसले विद्यार्थीहरूलाई असर पुर्याएको छ । बरालले चार महिनायता प्रधानमन्त्रीको असहयोग र अनावश्यक दबाबका कारण काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै राजीनामा दिएका थिए । उनले मेरिटका आधारमा डिन नियुक्ति गर्ने प्रयास गरेका थिए, तर सत्तारूढ दलको हस्तक्षेपका कारण सो सम्भव नभएको बताएका छन् । बरालको राजीनामा स्वीकृत भएसँगै त्रिविमा नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।