प्रा.डा. खड्ग केसीले सम्हाले त्रिवि उपकुलपतिको जिम्मेवारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्ग केसी नयाँ उपकुलपति बनेका छन् । प्रधानमन्त्री एवं त्रिवि कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रा.डा. केसीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म उपकुलपतिको कार्यभार दिइएको हो । केसीले जिम्मेवारीबारे प्रतिक्रिया दिँदै भने, 'मैले उपकुलपतिको पत्र बुझिसकेको छु, अब कार्यभार सम्हाल्छु ।' यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।
विद्यालय शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै अघि बढेका शिक्षकहरूलाई नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रहरीले रोक लगाएपछि उनीहरूले सडकमै धर्ना दिएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनले यथाशिघ्र शिक्षा ऐन ल्याउनुपर्ने माग अघि सारेको छ । महासंघले पटक–पटक सरकारसँग भएका सहमतिहरूको कार्यान्वयन नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलनलाई तीव्र बनाएको हो । शिक्षक आन्दोलनका कारण हाल नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागिता नजनाउने, कक्षा १२ को परीक्षा कार्यक्रम बहिस्कार गर्ने, एसईईको उत्तरपुस्तिका मूल्यांकन नगर्ने निर्णय लिइसकेको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन ल्याउन सरकारलाई आग्रह गर्दै आएको छ । माग पूरा नभएसम्म शैक्षिक हडताल जारी रहने चेतावनी महासंघले दिएको छ ।
सिंहदरबारमा शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न अर्थमन्त्री, गृहमन्त्री र शिक्षामन्त्री बैठकमा बसेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू विद्यालय नफर्किएपछि मुलुकभर भर्ना अभियान प्रभावित हुन थालेको छ । यसै सन्दर्भमा शिक्षकको सेवा–सुविधाबारे तत्काल मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयले गर्न सक्ने निर्णयबारे छलफल गर्न मन्त्रीहरूको संयुक्त बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो । बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराई सहभागी छन् । शिक्षकहरूको आन्दोलनले शैक्षिक सत्र सुरुआतमा अवरोध सिर्जना गरेपछि तत्काल समाधानका उपाय खोज्न उच्चस्तरीय छलफल सुरु गरिएको जनाइएको छ ।