इम्बार्क कलेजमा 'अनम्याथ म्याथ टक’ कार्यक्रम वैशाख २७ गते हुने
काठमाडौं । 'गणित भनेको कण्ठस्थ गर्ने होइन, खोज गर्ने विषय हो ।' यही मूल सन्देशसहित आउँदैछ ‘अनम्याथ म्याथ टक’ - एक विशेष अनुभवात्मक गणित कार्यक्रम, जुन वैशाख २७ गते (१) मे, २०२५० शनिबार, इम्बार्क कलेज, पुल्चोक ललितपुर मा आयोजना हुँदैछ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गणित शिक्षालाई रमाइलो, व्यावहारिक र जीवन्त बनाउने प्रयास गरिनेछ । कार्यक्रमको नेतृत्व भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरित गरिसकेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजा ले गर्नेछन् । उनी अनम्याथ स्कूल का सह–संस्थापक समेत हुन् । दिवेश बठीजाका अनुसार, 'गणित वास्तविक जीवनसँग जोडिने बित्तिकै विद्यार्थीहरूले यसलाई बुझ्न र रमाउन सुरु गर्छन् ।' कार्यक्रममा सहभागीहरूले गणितसँग सम्बन्धित रोचक गतिविधि, बहस, कथावाचन र अनुभव आदान–प्रदानमार्फत सिकाइलाई रमाइलो बनाउनेछन् । कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजे सम्म सञ्चालन हुनेछ । सिट संख्या सीमित भएकाले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई चाँडै दर्ता गर्न आयोजकले आग्रह गरेका छन् । दर्ता शुल्क प्रति सहभागी ९९ रूपैयाँ मात्र निर्धारण गरिएको छ ।
शिक्षा प्रणालीलाई व्यवहारिक बनाउने पहल, नेपाल विश्वविद्यालय र उद्योग परिसंघबीच सहमति
काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीयसहित सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए । उनले शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे । नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वास समेत व्यक्त गरे । नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इन्टर्नसिप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताए । सीपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको भन्दै उनले अहिलेको आवश्यकता पनि त्यही रहेको बताए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले सीपयुक्त, उद्यमशीलता, नविनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताए । विश्वविद्यालय नयाँ अवधारण अनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नविनता, अनुसन्धानलगायतका क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने बताए । सो अवसरमा नेपाल विश्वविद्यालयका बोर्ड सदस्यहरू डा. जगदीशचन्द्र पोखरेल, डा. विमला राई पौडेल, डा. लालकृष्ण केसीलगायत सहभागी थिए ।
विद्यार्थीलाई विदेश पलायन रोक्न शैक्षिक संस्था जाऔँ जाऔँ लाग्ने खालका हुनुपर्ने
काठमाडौं । विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमा रोक्न शैक्षिक नीति निर्माण गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले सोमबार आयोजना गरेको ‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीतिः संवाद र सम्भावना’ विषयक विमर्श कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश जङ्ग रायमाझीले शिक्षा र स्वास्थ्य उपलब्ध गराउन नसकेसम्म मुलुक समृद्ध बन्न नुक्ने धारणा राखे । शैक्षिक पूर्वाधार निर्माणका लागि वनको जग्गा उपयोग गर्नुपर्ने उनले आवश्यकता औंल्याए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा तीर्थराज खनियाँले देशमा उच्च शिक्षासम्बन्धी प्रभावकारी नीति नभएको उल्लेख गर्दै विदेशीले चाहिएर नेपाली विद्यार्थी आफ्नो मुलुकतर्फ लगिरहेका बताए । नेपाली विद्यार्थी जाने पहिलो अष्ट्रेलिया र दोस्रो देश जापान भएको उल्लेख गर्दै उनले जापानमा धेरै घर खाली भएकाले नेपाली विद्यार्थी लगिएको सुनाउ । अन्य मुलुक गएका जापानी स्वदेश नफर्किएकाले त्यहाँका घर खाली हुने अवस्थामा पुगेका पूर्वउपकुलपति खनियाँले बताए । पूर्वउपकुलपति अङ्गराज जोशीले शैक्षिक संस्था जाऔँ जाऔँ लाग्ने खालका नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै इन्टरनेटको पनि सहज पहुँचबाट शिक्षा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शिक्षा देशको मेरुदण्ड भए पनि कम प्राथमिकतामा परेको बताए । लिक्वानले सिङ्गापुर बनाउँदा पनि शिक्षाको गुणस्तर सुधार गरेर देशको अवस्था सुधार गरेको उनले जानकारी दिए । नेपाल खुला विश्वविद्यालयका उपकुलपति सिलु बज्राचार्यले अनुसन्धानमा आधारित शिक्षा व्यवस्थाको तयारी गरिनुपर्नेमा जोड दिइन् । सैद्धान्तिक र व्यावहारिक ज्ञान एकसाथ दिन नसके शिक्षाको गुणस्तर सुधार नहुने उनको भनाइ छ । शिक्षाविद् विद्यानाथ कोइरालाले गैरआवासीय नेपाली साङ्घ (एनआरएनए)लाई ज्ञान, सीप, प्रविधि, पैसा र जनशक्ति लिएर नेपाल फर्काउने वातावरण बनाइनुपर्ने बताए । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाले प्रभावकारी पठनपाठनको वातावरण बनाउनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्यले बेलायतबाट आफैँले २९ जनाको शव नेपाल फर्काएर सहयोग गरेकाले विदेश गएर दुःख पाउने नेपाली विद्यार्थीको सूची लामो रहेको बताए । विभागका संयोजक नैनसिंह महरले अहिलेको शैक्षिक अवस्था अस्तव्यस्त हुनुका कारण खोजी गर्नुपर्नेमा जोड दिए ।