लक्ष्मी विद्यापदले गर्यो तीन उत्कृष्ट विद्यार्थी सम्मान

काठमाडौं । लक्ष्मी ग्रुपद्वारा स्थापित र पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट यस वर्ष तीन जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । संघको ७१ औं साधारणसभा अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई पदक प्रदान गरिएको हो । यसपटक लक्ष्मी विद्या पदक २०८१ बाट एमबीएसतर्फ पृथ्वीनारायण क्याम्पसकी दीपा तिवारी, बीबीएतर्फ ला ग्रान्डी इन्टरनेसनल कलेजकी प्रमिशा सापकोटा र बीबीएसतर्फ पृथ्वीनारायण क्याम्पसका विजय सुवेदी सम्मानित भएका छन् । व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए र बीबीएस) मा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई हरेक वर्ष पदक प्रदान गरिँदै आएको छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनील श्रेष्ठले विजयी विद्यार्थीलाई ताम्रपत्र, दोसल्ला, पदक र नगद पुरस्कारसहित सम्मान गरेका हुन् । यसअन्तर्गत स्नातकोत्तर विद्यार्थीलाई २५ हजार रुपैयाँ र स्नातक तहका विद्यार्थीलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको संघका महासचिव शोभा गौतमले जानकारी दिइन् ।

भदौ २१ देखि आन्दोलनमा जाने शिक्षकको चेतावनी

काठमाडौं । शिक्षकहरुले आइतबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।  उनीहरुले यसअघि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरुले सुनुवाई नगरे दोस्रो चरणको आन्दोलन शुरु हुने भन्दै त्यसका लागि तयार रहन पनि सम्पूर्ण शिक्षक, कर्मचारीलाई आह्वान गरे ।  उनले भने, ‘देशभरीका शिक्षक कर्मचारी साथीहरु दोस्रो चरणको आन्दोलनको तयारीमा छौं । हाम्रा माग, मुद्दाहरु सुनुवाई भएन भने, ऐनले बोकेर आएको भने आमी अत्यन्तै कडा २०८१/८२ को भन्दा पनि कडा आन्दोलन गर्छौं । त्यसका लागि तम्तयार रहन म शिक्षक, कर्मचारी साथीहरुलाई हार्दिक आग्रह गर्दछु ।’ महासंघले विद्यालय शिक्षा विधेयकमा आफूहरुको मुख्य माग सम्बोधन नभएको उल्लेख गर्दै त्यसलाई समावेश गर्न राजनीतिक दलहरुलाई दवाव दिन मुख्यालय धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।   

५२ वर्षको उमेरमा कलेज भर्ना भए वडा अध्यक्ष खनाल

काठमाडौं । मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर औपचारिक शिक्षा सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उनी अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन् । शिक्षाको महत्व सधैं बुझ्दै आएका खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा छन् । जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महसुस भइरहने भएकाले गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उनले अनुभव सुनाए । विगतमा विदेश जाने सपना बोक्नुभएका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन । उनले बस बेचे, पसल गरे, कुखुरा पालनजस्ता काम पनि गरे । तर ऋणको चक्रव्यूहबाट भने उम्कन सकेनन् । यद्यपि जीवनका ती सबै चुनौतीहरूले उनी कमजोर भएनन् । वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो । २०७४ सालमा उनी पहिलोपटक वडा अध्यक्षमा निर्वाचित भए । त्यसपछि श्री बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको भूमिका समेत उनले सम्हाले । उक्त विद्यालयमा लगाइएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन सुरु गर्ने निर्णय उनले नै लिए । जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ । अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ । वि।सं। २०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैंले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना भए । शिक्षाप्रति बढ्दो मोहका बीच उनले २०८१ सालमा कक्षा १२ उत्तीर्ण गर्दै २।६ जीपीए ल्याए । त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो । अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उनी नियमित रूपमा क्याम्पसमा पढाइमा सहभागी भइरहेका छन् । शिक्षाप्रतिको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगरले शिवप्रसाद खनाल मात्र होइन, उनको नेतृत्वमा रहेको समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।