नेपालमा व्यवसायिक शिक्षाको नयाँ युग : इम्बार्क कलेजको अग्रसरता
काठमाडौं । पुल्चोक, ललितपुरमा स्थापना भएको इम्बार्क कलेजले व्यवसायिक शिक्षामा नयाँ अध्याय सुरु गरेको छ । अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय साझेदारी र उद्योग–केन्द्रित पाठ्यक्रमका माध्यमबाट कलेजले उच्च शिक्षामा व्यवहारिकता र उद्यमशीलतालाई मुख्य आधार बनाउँदै विद्यार्थीलाई भविष्यका व्यवसायिक नेता र नवप्रवर्तकको रूपमा तयार पार्ने अभियान थालेको हो । इम्बार्क कलेजले परम्परागत शिक्षण पद्धतिलाई चुनौती दिँदै व्यवहारिक सिकाइ, अनुसन्धान, उद्यमशीलता र सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई प्राथमिकता दिएको छ । यस कलेजले रोहेम्पटन विश्वविद्यालय (लन्डन, यूके) सँग सहकार्यमा सञ्चालन गर्दै आएका बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रमहरू मार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको डिग्री हासिल गर्ने अवसर प्रदान गरिरहेको छ । कलेजको उद्योग–सम्बद्ध पाठ्यक्रमले विद्यार्थीलाई केवल रोजगारीका लागि मात्र नभई व्यवसाय सिर्जना गर्ने क्षमतासमेत विकास गर्न मद्दत पुर्याउने बताइएको छ । कक्षा शिक्षणसँगै उद्योग भ्रमण, कार्यशाला, इन्टर्नसिप र परियोजना कार्यमार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाइने व्यवस्था गरिएको छ । करियर विकास केन्द्रमार्फत बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र रोजगारी अवसरमा सहभागी हुने सीपसमेत प्रदान गरिन्छ । इम्बार्क कलेजको उद्यमशीलता प्रवर्द्धन केन्द्रले विद्यार्थीका नविन व्यावसायिक विचारलाई मूर्तरूप दिन सहयोग गर्दै आएको छ। व्यापार योजना निर्माणदेखि लगानी खोज र प्रोटोटाइप परीक्षणसम्म सहयोग उपलब्ध गराइने भएकाले विद्यार्थीलाई रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने उद्यमी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । कलेजले व्यक्तिगत शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सहयोग र समावेशी सिकाइ वातावरणमार्फत विद्यार्थीको सम्पूर्ण विकासमा जोड दिएको छ । डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, प्रयोगशाला तथा सहकार्यका लागि खुला स्थानहरूले शिक्षण वातावरणलाई अझ प्रभावकारी बनाएको कलेजले जनाएको छ । अनुसन्धानलाई प्राथमिकता दिँदै कलेजले ‘इम्बार्क अनुसन्धान सञ्जाल केन्द्र’ स्थापना गरेको छ। यसमार्फत स्थानीय व्यवसायिक केस–स्टडी, उद्योगसँगको सहकार्यमा हुने अनुसन्धान र नीतिगत अध्ययनमा विद्यार्थीलाई सहभागी गराइनेछ । छोटो समयमा नै इम्बार्क कलेजले नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा, व्यवहारिक अनुभव र सामाजिक उत्तरदायित्वलाई जोड्ने संस्थाको रूपमा पहिचान बनाएको छ । कलेजका अनुसार यहाँका स्नातक विद्यार्थीले केवल डिग्री मात्र नभई नेतृत्व, नवप्रवर्तन र सामाजिक योगदान गर्ने क्षमता पनि विकास गर्नेछन् ।
विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट
काठमाडौं । नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौँ फ्रेण्डसिप लन्च हाइक उत्साहपूर्वक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कान्ति भैरव मावि र ओरिएन्टल एकेडेमीमा अध्ययनरत स्काउटका विद्यार्थीहरूको सहभागितामा भक्तपुरको निलबाराही क्षेत्रमा एक दिने हाइक सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्याउने बताए । उनका अनुसार स्काउटको माध्यमबाट विद्यार्थीहरूले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्ने अवसर पाउँछन् । विशेष अतिथि शिक्षाविद् तथा महाकवि देवकोटा मेमोरियल मा।वि।का प्रिन्सिपल रमेश शर्माले स्काउट कार्यक्रमलाई व्यवहारिक जीवन सीपसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण अभ्यासको रूपमा वर्णन गरे । उनले पुस्तकको ज्ञानसँगै व्यवहारिक दक्षता र सामाजिक मूल्यमा पनि आजको पुस्ता पारंगत हुनुपर्ने आवश्यकता औंल्याए । दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले स्काउट कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए । कार्यक्रमका सभापति तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउट हाइकले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बन्न प्रेरणा दिने धारणा राखे । उनका अनुसार स्काउटले सानै उमेरदेखि “आफ्नो काम आफैं गर्ने” संस्कार विकास गर्न सहयोग गरिरहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले दाउरामा खाना पकाउने अभ्यासदेखि विभिन्न साहसिक खेलसम्मको अनुभव लिए । साथै, स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारीले कला प्रस्तुति दिएर विद्यार्थी र उपस्थित स्काउट मास्टरलाई मनोरञ्जन समेत गराएका थिए । यस अवसरमा सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामा, देवदूत अधिकारी, दिपेश केसीलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सफल संयोजन नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालले गरेका थिए ।
ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट आइएलटिएस साझेदारलाई सम्मान, नयाँ अभियानको शुभारम्भ
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइएलटिएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) मा उत्कृष्ट साझेदारलाई सम्मान गर्दै विभिन्न नयाँ अभियान सार्वजनिक गरेको छ । उक्त सम्मेलन साउन ३० गते काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म असाधारण योगदान पुर्याउने उत्कृष्ट साझेदारहरूलाई २० वटा विभिन्न श्रेणीमा पुरस्कार प्रदान गरिएको थियो । प्लेटिनम पार्टनरको रुपमा अर्बिट मेडिकल इन्ट्रान्स र उत्कृष्ट संघको रुपमा इक्यानलाई सम्मान गरियो । यस अवसरमा 'ग्लोबल च्यानल पार्टनर अभियान' शुभारम्भ गरिएको छ । यस अभियानअन्तर्गत सबै साझेदारले-सानो वा ठूलो समूहगत वा व्यक्तिगत उपलब्धिका आधारमा निष्पक्ष प्रतिस्पर्धा गर्दै सम्मान र पुरस्कार जित्ने अवसर पाउनेछन् । उत्कृष्ट साझेदारलाई आर्थिक सहयोगसहित लन्डनस्थित ब्रिटिस काउन्सिल मुख्यालयमा हुने समारोहमा सहभागी गराइने र शैक्षिक भ्रमणमा समेत संलग्न गराइनेछ । त्यस्तै, ब्रिटिस काउन्सिलले टर्किस एयरलाइन्स, पठाओ र सफारीसँग सहकार्यमा आइएलटिएस उपहार अभियान–सिजन ३ शुभारम्भ गरेको छ । यस अन्तर्गत परीक्षा दिने विद्यार्थीहरूले हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कारअन्तर्गत बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोप गन्तव्यका लागि चारवटा एकतर्फी हवाई टिकट, एप्पल म्याकबुक एयर, सफारी सुटकेश, पठाओमा छुट तथा विभिन्न रेस्टुरेन्ट भौचरसमेत समावेश गरिएका छन् । अभियानमा सहभागी हुनका लागि विद्यार्थीहरूले साउन ३० गतेदेखि कात्तिक १४ गतेसम्म आइएलटिएस लिखित वा कम्प्युटर परीक्षा बुकिङ गरी रकम बुझाउनु पर्नेछ ।