एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मानसहित पुरस्कार

ललितपुर । ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।  महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने र संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान सहित पुरस्कृत गरेको हो । महानगरले शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यार्थीका विद्यार्थीलाई जनही दुईलाख हस्तान्तरण गरेको हो । यसैगरी सामुदायिक विद्यालय प्रत्येकलाई ४ लाख दिएको छ । संस्थागत तर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । सामुदायिक तर्फ बुङमतीको आर्दश सौल युवक माध्यमिक विद्यालयका ३ जना विद्यार्थीमध्ये एक जनाले ४ जिपिए र दुई जनाले ९ दशमलव ९६ जिपिए ल्याएका छन् ।  ललितपुर महानगरपालिकामा शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा ९१ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ भने ८१ दशमलव ०५ प्रतिशत र संस्थागत तर्फ ९४ दशमलव ९० प्रतिशत उत्तीर्ण भएका छन् ।  महानगर प्रमुख चिरीबाबु महर्जनले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो ।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रष्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरुले पनि यो अभ्यासलाई अनुसरण गरेको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिदैं जीवनका अझैं ठूल्ठूला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ विद्यार्थी, विद्यालय र अभिभावकको मिहेनतका कारण सफलता प्राप्त भएका बताइन् । सफल विद्यार्थीलाई शुभकामना दिदैं जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।  महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोना लगत्तै महानगरले  सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताए । उक्त सम्मान र प्रेरणालाई पुष्टि गर्ने आधारमध्ये एक विद्यार्थीले एसइईमा प्राप्त गरेको जिपिए भएको प्रष्ट पारे ।  जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले महानगरले संस्कृति संरक्षण, हरियाली प्रवद्र्धनसँगसँगै शिक्षा क्षेत्रमा गरेको यो असल अभ्यास भएको बताए ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिदैं सकारात्मक सोचसहित जिम्मेवार र इमान्दार बन्न अनुरोध गरे । कार्यक्रममा पुरस्कृत विद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए ।

चिकित्सा शिक्षामा थपिए १ हजार ३ सय ५९ सिट

काठमाडौं । सरकारले निजी कलेजमा एमबीबीएस र बीडीएसका लागि सिट संख्या बढाएको छ । चिकित्सा शिक्षा आयोगको २१ औं बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका विभिन्न कार्यक्रममा १ हजार ३ सय ५९ सिट संख्या बढाएको हो ।  एमबीबीएस, बीडीएस, बी फर्मा, एडीएम, एमसीएच लगायतका कार्यक्रममा सिट संख्या बढाइएको हो । जसमा सबैभन्दा धेरै एमबीबीएसमा सिट थप गरेको छ ।  एमबीबीएसतर्फ प्रति मेडिकल ३० सिट थपी १ सय ३० पुर्याइएको छ । एमबीबीएसमा सबै कलेजमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय गरिएको छ । योसँगै अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ । यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट थियो । यस्तै, नर्सिङतर्फ बीएस्सी नर्सिङमा ४ सय ४० सिट थप गर्ने निर्णय भएको छ ।  यसअघि १ हजार ९ सय ९० सिट थियो । सिट थपिएसँगै अब बढेर २ हजार ४ सय ३० पुगेको छ । बीएनएसतर्फ १ सय २२ सिट थप भएको छ । यसअघि ९ सय ४० सिट थियो । अब यो संख्या बढेर १ हजार ६२ पुगेको छ ।  त्यस्तै, बीपीएचमा यसअघि ६सय ५० सिट रहेकोमा ६२ सिट थप भइ ७ सय १२ पुगेको छ । ६ सय ९५ सिट रहेको बी फार्मेसीमा  १ सय ४० सिट संख्या बढेर ८ सय ३५ पुगेको छ भने बीएमएसको सिट संख्या भने घटाउने निर्णय गरेको छ ।  एक सय सिट संख्या रहेको बीएमएस विषयमा ३५ सिट घटाएर अब ६५ सिट मात्र कायम गरिने आयोगले निर्णय गरेको छ ।  निजी क्षेत्रमा विद्यार्थीको सिट संख्या बढाइए पनि सरकारी कलेजमा भने यथावत राखिएको छ ।

मदन भण्डारी र पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सुरु हुँदै

काठमाडौं । एमबीबीएस अध्ययनका लागि दुईवटा शैक्षिक संस्था थपिएका छन् । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयले अब एमबीबीएस पढाउन पाउने भएका हुन् ।  चिकित्सा शिक्षा आयोगको २१ औं बोर्ड बैठकले यी दुईवटा कलेजलाई एमबीबएएस कार्यक्रम सुरु गर्न दिने निर्णय गरेको हो ।  यसपटक देखि एमबीबीएस पढाउने थप दुईवटा संस्था थपिएका छन् । थपिएका यी दुबै सरकारी संस्था हुन् ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० र पूर्वाञ्चल विश्वविद्यालयललाई पनि  ५० सिट दिइएको छ  ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले योभन्दा अगाडि एमडीएमएस कार्यक्रम सुरु गरेको थियो । ८ सिटमा एमडी एमएस विद्यार्थी पढाइरहेको यो प्रतिष्ठानले एमबीबीएसमा ५० सिटब पाएको छ भने बीपीएच २० सिट, बीएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट अध्ययन हुँदै आएको थियो ।  यसपटक बीएस्सी नर्सिङ २० बाट बढेर ३० पुगेको छ । यस्तै, पूर्वाञ्चल प्रतिष्ठानमा पनि नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, बीएमएलटी लगायतका विषयहरु सञ्चालन हुँदै आएका थिए । अब यहाँ पनि एमबीबीएस कार्यक्रम सुरु हुने भएको छ ।