यो साताभित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हो । विकासन्युजसँग कुरा गर्दै परीक्षा उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले नतिजा सार्वजनिक गर्ने तयारी भए पनि आज वा भोलि नै नभई यो साताभित्र सार्वजनिक हुनसक्ने जानकारी दिए । ‘हाल बोर्डले नतिजमा कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । नतिजा सार्वजनिकको तयारीमा हामी लागिरहेका छौं, सबै काम सकेर बोर्ड बैठक बस्छ त्यसपछि बल्ल नतिजा सार्वजनिक हुन्छ, ज्ञवालीले भने । गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।  नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने छ । यसरी हेर्न सकिनेछ नतिजा : 

गरिब तथा विपन्न विद्यार्थीलाई कामना सेवा विकास बैंकको शैक्षिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय वालिङमार्फत श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका विद्यार्थीलाई कापी, कलमलगायत विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । त्यस्तै, बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले यस प्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय र सहकार्य गर्दै यस्ता सामाजिक तथा साक्षरता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।  

एकैपटक ८ विश्वविद्यालयमा उपकुलपति खोज्दै सरकार

काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरेको हो । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको हो । केही दिन अगाडि सरकारले जारी गरेको अध्यादेशमार्फत यी विश्वविद्यालयका उपकुलपति स्वतः पदमुक्त भएका थिए । छनोट तथा सिफारिस समितिले वैशाख २४ गते स्वीकृत गरेको विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम आवेदन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । मन्त्रालयले सम्बन्धित कार्यविधि पनि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ ।