काठमाडौं । कामना सेवा विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा डिप बोरिङ प्रणालीमार्फत खानेपानीको आपूर्ति भए पनि पानी शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी र शिक्षकले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ हुँदै आएको थियो । सोही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ ।
कार्यक्रममा वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकको सहयोगबाट विद्यार्थी र शिक्षकले स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्दै यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने बताए ।
बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।