जीआईसीको सिईओ श्रेष्ठ बन्दै, नेप्सेमा साउदको निरन्तरता
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाल स्टक एक्स्चेञ्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिहं साउदले निरन्तरता पाउने भएका छन् । साउदले आफ्नो पद सुरक्षित भएपछि जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा गर्दै आएको दावी छोडेका छन् । साउदले उक्त पदमा आफ्नो दावी छोडेपछि जनरल इन्स्योरेन्स कम्पनीले पनि कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको छ । उनलाई सीईओ बनाउन कम्पनीले बीमा समितिसँग सहमति माग गर्दै पत्र पनि पठाएको छ । ‘जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा रामचन्द्र श्रेष्ठको नाम प्रस्ताव आएको छ, उनको योग्यता, अनुभव सबै मिल्छ, तर प्रक्रियागत त्रुटी देखिएकोले सच्याएर ल्याउन भनेको छौं’ बीमा समिति स्रोतले भन्यो । प्रक्रिया पुरा गरेर आएलगत्तै स्वीकृति दिने मनस्थितिमा बीमा समितिका अधिकारीहरु रहेका छन् । स्थापनाको ३ वर्षपछि यस कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदपूर्ति हुँदैछ । लामो समय कम्पनीको महाप्रबन्धकको जिम्मेवारी एसके टमोटले लिएका छन् । उमेरका कारण कम्पनीबाट उनले अवकाश पाएपछि कम्पनीले नयाँ सीईओ राख्न लागेको हो । रामचन्द्र श्रेष्ठ केही समयअघि मात्र लुम्बिनी जनरल इन्स्योरेन्स छोडेर जनरल इन्स्योरेन्स कम्पनीमा आएका हुन् । उनीसँग बीमा क्षेत्रको दुई दशक भन्दा लामो अनुभव रहेको छ । उता नेपाल स्टक एक्स्चेञ्जमा साउदको कार्यकाल सकिन लागेको छ । साउद जनरल इन्स्योरेन्स कम्पनीका प्रवद्र्धक हुन् । उनले आफन्तहरुको नाममा सो कम्पनीमा सेयर लगानी गरेका छन् । नेप्सेमा ४ वर्ष कार्यकाल पुरा भएपछि जनरल इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अघिकृत बन्ने उनको योजना थियो । अर्थमन्त्रालय र धितोपत्र बोर्डसँगको द्वन्द्वका कारण उनले नेप्सेमा निरन्तरता पाउने सम्भावना शुन्य थियो । तर सरकार परिवर्तन भएपछि साउदलाई नेप्सेमा निरन्तरता पाउन सजिलो भएको छ । चार वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवा भएको बेलामा नै साउद नेप्सेको सीईओ भएका थिए । राजनीतिक रुपमा माओवादी निकट र भौगोलिक हिसावले देउवा निकट भएकोले संयुक्त सरकारले साउदलाई निरन्तरता दिने सम्भावना बलियो भएको जानकारहरु बताउन्छन् ।
सेयरमा मनपरी लगानी गर्ने जनरल इन्स्योरेन्सका दुई कर्मचारी निलम्बित
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लगानी विभागका दुई कर्मचारीलाई निलम्बन गरेको छ । कानुनी व्यवस्था विपरित लगानी गरेको र कम्पनीलाई जोखिममा पारेको बीमा समितिको रिपोर्टका आधारमा कम्पनीले आफ्ना दुई कर्मचारी निलम्बन गरेको हो । कम्पनीले लगानी विभाग प्रमुख तथा सहायक महाप्रवन्धक निल बराली र अधिकृत रंग साउदलाई निलम्बन गरेको एक सञ्चालकले बताए । उनीहरुलाई ३० दिनका लागि निलम्बन गरिएको उनले जानकारी दिए । कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले भने यस विषयमा अनविज्ञता प्रकट गरे । कम्पनीको स्थलगत निरिक्षणपछि उनीहरुलाई कारवाही गर्न बीमा समितिले गत बैशाख पहिलो साता लिखित निर्देशन दिएको थियो । सेयरमा अन्धधुन्ध लगानी गरेको भन्दै बीमा समितिले कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवाललाई पनि निलम्बन गरेको थियो । निलम्बन गरेको दुई महिनापछि उनलाई बीमा समितिले सफाइ दिएको छ । तर अग्रवालले असार ३१ गते सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन् । उनको ठाउँमा मिता मुरारका अग्रवाल नियुक्त भएका छन् । सम्बन्धित समाचार जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाललाई सफाइ सेयरमा अन्धाधुन्ध लगानी गर्ने बीमा कम्पनीको सञ्चालक निलम्बित, विभागीय प्रमुखहरु पनि कारवाहीमा
हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।