बीमा क्षेत्रमा लागू हुँदै गोएएमएल सिष्टम, शङ्कास्पद लगानी रोक्न समितिले दियो यस्तो निर्देशन

काठमाडौं । नेपालको बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल (एण्टी मनि लाउन्डरिङ्ग सिष्टम) लागू हुने भएको छ । नियामक निकाय बीमा समितिले यही साउनभित्रमा बीमा क्षेत्रमा उक्त सिष्टम लागू गर्न लागेको हो । समितिका अनुसार उक्त सिष्टम हाल सञ्चालनमा रहेका प्रत्येक बीमा कम्पनीहरुमा अनिवार्य रुपमा लागू गरिने छ । यससँगै अबको २० दिनभित्र सबै बीमा कम्पनीमा सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको उक्त सफ्टवेयर लागू हुने भएको छ । बीमा कम्पनीहरुले एकल बीमालेख अन्तर्गत पहिलो प्रिमियम वापत एकैपटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले ८/१० महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले यसकाे बारेमा शुरुमै नेपाल राष्ट्र बैंकलाई वित्तीय जानकारी इकाई (एफआईयू) लाई जानकारी गराउन समेत उनले बीमा कम्पनीलाई निर्देशन दिएका छन् । साथै, बीमा कम्पनीहरुमा बीमा गर्नका लागि एकैपटक ठूलो रकम आएमा त्यसको श्रोत के हो र कहाँबाट आयो भन्ने जानकारी लिएर गोएमएल मार्फत एफआईयूलाई जानकारी गराउन उनले निर्देशन दिएका छन् । यदि त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन, २०४९ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानून बमोजिम कारबाही हुने समेत उनले बताए । साथै, उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी निवारणका लागि सँधै चनाखो हुन पनि कम्पनीहरुलाई आग्रह गरेका छन् ।

आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको जनाएकाे छ । यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम १ लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने छ । यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको बार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिने कम्पनीले जानकारी दिएकाे छ । त्यसैगरी बीमा जोखिम प्रारम्भ पश्चात बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिनेछ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । यदि बीमाशुल्क छुट सुविधा लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने छ । बीमालेख चालु रही बीमा अवधि भित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपाङ्ग अशक्त सुविधा उपलब्ध गराइने छ । यस्तै मासिक आय सुविधा लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपश्चात बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउने छ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्ष पश्चात नै बच्चाको जोखिम बहन गर्न सकिनेछ । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।