आईएमई जनरल इन्स्योरेन्सले बढायो सर्वसाधारणको सेयर स्वामित्व

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज(साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व भएको छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य २४ रुपैयाँले घटेर प्रतिकित्ता १३०८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशतले घटी हो ।

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैयाँ प्रदान

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो । मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो । न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए ।

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, ५ वर्षसम्म लागू हुने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । अटो प्लस सम्झौतामा टाटा मोर्टसद्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ । साथै, यो स्कीम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार ५०० रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् । यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्गको जुनसुकै आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।