दुई दिनमै १५ लाखले भरे सानिमा लाइफको आईपीओ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोश्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार साउन २१ गते अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जनाले २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ । सम्बन्धित समाचार आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने

सिभिल बैंकको एक्सटेन्सन काउन्टर कपिलवस्तुको करदाता कार्यालयमा पनि

काठमाडौं । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नं ०१, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन् । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन् । करिव ६ लाख ग्राहकलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै, बंैकको हालसम्म ८६ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ९० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, बीमाशुल्क र लगानी दुबैमा वृद्धि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । साउन २१ गते सम्पन्न कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.०५२६३ प्रतिशत लाभांश पाउने छन् । सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७७ असार मसान्तको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान र नगद प्रवाह विवरणहरु छलफलहरु पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कूल बीमा शुल्क आम्दानी एक अर्ब ८० करोड ७ लाख रुपैयाँ र खुद बीमा शुल्क आम्दानी ६४ करोड ६४ लाख रुपैयाँ गरेको छ ।  त्यस्तै, इन्स्योरेन्सले २६ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई असार मसान्तमा २ अर्ब ३१ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको कुल कारोबार ८.०८ प्रतिशतले बढेर एक अर्ब ८० करोड रुपैयाँ पुगेको छ । र, इन्स्योरेन्सका सबै पोर्टफोलियोहरु निरन्तर वृद्धिमा रहेका कम्पनीले जनाएकाे छ । आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आएको कम्पनीले बीमालाई बढीभन्दा बढी ग्राहकसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ । साथै, आर्थिक वर्ष २०७६/७७ मा नेपाली कला साहित्य उत्थानका लागि कार्यरत कलासाहित्य डटकम प्रतिष्ठालाई साहित्यिक पुस्तक प्रकाशन, श्रष्टा सम्मान पुरस्कार गराउने कम्पनीले जनाएको छ । सभा साउन २१ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको पानीपोखरीमा वेविनार मार्फत सम्पन्न भएको हो ।